वि.सं. २०८२ सालको पञ्चाङ्ग प्रकाशनका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सूचना

वि.सं २०८२ सालको लागि नेपालभरि लागू हुने पञ्चाङ्ग प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले सूर्यसिध्दान्तको मूल सूत्रबाटै ग्रहस्पष्टीकरण, ग्रहको उदय, अस्त, चाड, पर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषयहरू समावेश भएको पञ्चाङ्ग गणना गरी सोको प्रतिलिपि यही २०८१ भाद्र मासान्तसम्म यस समितिको नारायणहिटी दरबार परिसरभित्र रहेको कार्यालयमा बुझाउन समस्त पञ्चाङ्गकारहरूमा अनुरोध गरिन्छ । हाल समितिले पञ्चाङ्गलाई समयसापेक्ष परिमार्जन गर्दै जाने सन्दर्भमा पञ्चाङ्ग निर्माण गर्दा केतकीय ग्रहगणितलाई अवलम्वन गर्न मिल्ने, नमिल्ने विषयमा अध्ययन गरिरहेको हुँदा यसका सकारात्मक पक्षलाई मध्यनजर गरी विद्वद्वर्गबाट स्वीकार भए सोहीअनुसार गर्न तयार रहनसमेत सबै पञ्चाङ्गकारहरूमा जानकारी गराइन्छ ।

नयाँ पञ्चाङ्गकारहरूको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र वर्तमान वर्षको गणनाको सबै आधार र खेस्रा गणितसमेत पेश गर्नुपर्नेछ । म्याद नाघी पेश भएका वा अङ्ग नपुगेका र समितिले अङ्गीकार नगरेका फरक सिद्धान्तबाट निर्माण भएका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले पनि यस समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्न पाइनेछ अन्यथा स्वीकृतिविना प्रकाशित पञ्चाङ्ग तथा क्यालेण्डरलाई नियमबमोजिम आवश्यक कारबाही समेत हुनसक्ने व्यहोरा सम्बद्ध सबैलाई जानकारी गराइन्छ । 

202408091352