श्रावणशुक्ल पूर्णिमाका दिन गरिने विभिन्न कृत्यहरूको कालसम्बन्धमा प्रेस विज्ञप्ती

यस वर्ष वि.सं. २०८१ साल भाद्र ३ गते सोमवार श्रावणशुक्ल पूर्णिमाका दिन गरिने गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भैरहेको र जनगुनासाहरू टेलिफोनमार्फत् समितिमा प्राप्त भैरहेको हुँदा यस विषयमा समितिको ध्यान आकृष्ट भएको छ ।

भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडि १९ पला रहेको छ । घण्टा– मिनेटअनुसार त्यस दिन दिउसो १।३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिन्छ ।

यस विषयमा शास्त्रीयवचन यस्तो छ :–

भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा ।

श्रावणी नृपतिं हन्ति ग्रामं दहति फाल्गुनी ।।


भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको छ ।

यहाँ नृपतिको अर्थ राजा, राष्ट्रप्रमुख राज्यसञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तित्वहरूको बोध हुन्छ । यसकारण उक्त विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई उक्त दिन १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव देखिन्छ । यस बीचमा गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूत्रमात्र पूर्वोक्त व्यक्तित्वहरूले बाँध्न नहुने हुँदा भद्रापछि बाध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।

202408161803