दूर्वाष्टमी व्रत अर्थात् गॏरा पर्व मनाउने सन्दर्भमा विज्ञप्ति

यो वर्ष वि.सं. २०८० साल भाद्र ७ गते विहिवार पर्ने दूर्वाष्टमी व्रत अर्थात् गॏरा पर्व मनाउने सन्दर्भमा, विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोनको माध्यम समेत प्रयोग गरी सर्व साधारण जनतालाई भ्रम सृजना गराइ रहेको र हाम्रो धर्म संस्कृतिमा समेत असर परिरहेको भनी विभिन्न माध्यमबाट यस समितिमा जानकारी प्राप्त भएको ले यस सम्बन्धमा समितिको ध्यान आकृष्ट भएको छ । दूर्वाष्टमी व्रत र गौरा पर्वको सन्दर्भमा यस समितिले वि.सं. २०८० सालको चाडपर्व निर्णय गर्दा सम्वन्धित क्षेत्रका विद्वान विदुषीहरू सँग रायसुझाव लिई व्यापक छलफल गरेर निर्णय गरिएको विषय हो । समितिबाट निर्णीत चाडपर्वहरू समावेस गरी प्रकाशित भएका पञ्चाङ्गहरूमा भाद्र ७ गते दूर्वाष्टमी व्रत र गौरा पर्वको उल्लेख गरिएको छ । उक्त पर्व सम्वन्धित क्षेत्रमा भाद्र ७ गते मनाउनु हुँदैन र भाद्र २१ गते मनाउनु पर्छ भन्ने बहस चलिरहेको जानकारी समितिमा प्राप्त भएको हुँदा समितिका तर्फबाट सम्वन्धित क्षेत्र समेतका विद्वान ज्योतिषी, धर्मशास्त्रका विद्वान् र चाडपर्वका मर्मज्ञहरू सँग विचार विमर्श गरियो । साथै दूर्वाष्टमीको सम्बन्धमा ग्रहगणितका विभिन्न सिद्धान्तबाट अगस्तिको उदय गणना गर्दा निम्न लिखित शास्त्रीय मान्यता र गणितका आधार देखिन्छन् । भाद्रशुक्ल अष्टमीमा मनाउनु पर्ने उक्त पर्व अगस्तिको उदय पश्चात् मनाउँन हुँदैन, ज्वेष्ठा र मूल नक्षत्रमा पनि मनाउन हुँदैन र कन्यार्कमा पनि मनाउन हुँदैन भन्ने शास्त्रमा स्पष्ट उल्लेख गरिएको छ । जस्तैः

(१)   सिंह संक्रान्त्युत्तरमेकविशतितमे दिने उदयमेति ।(धर्म सिन्धु पृ.१२७)                                           

(२)   दूर्वाष्टमी तु सा कार्या ज्येष्ठां मूलं च वर्जयेत् ।

        ऎन्द्रर्क्षे पूजिता दूर्वा हन्त्यपत्यानि नान्यथा ।

        भर्तुरायुर्हरा मूले तस्मात्तां परिवर्जयेत् ।।

        (वीर मित्रोदय दुर्वाष्टमी निर्णय पृ.४४)                       

(३)    शुक्ले भाद्र पदे मासे दूर्वा संज्ञा तथाष्टमी ।

    सिंहार्क एव कर्तव्या न कन्यार्के कदाचन ।

    अगस्त्य उदिते तात पूजयेदमृतोभवाम् ।

    वैधव्यं पुत्रशोकञ्च दशवर्षाणि पञ्च च ।।

        माथि उल्लेखित शास्त्रीय बचनका आधारमा अगस्त्योदय पश्चाद् दूर्वाष्टमी मनाउन निषेध गरिएको छ । “भाद्र शुक्लाष्टम्यामगस्त्योदये भाविनि सति पूर्वकृष्णाष्टम्यामेव कुर्यादिति हेमाद्रिः । दीपिकायासप्येवम् इदं च व्रतं स्त्रीणां नित्यम्”  निर्णयसिन्धुमा उल्लिखित हेमाद्रिको यो वचन एवं दीपिकालाई समेत आधार मान्दा पनि भाद्रशुक्ल अष्टमीमा अगस्त्योदय हुने भएमा पूर्व अर्थात भाद्रकृष्णष्टमीमा नै दूर्वाष्टमी व्रत गर्नुपर्छ । यो २०८० सालमा सिद्धान्त सारणीको सूत्रानुसार गणना गर्दा भाद्र कृष्ण सप्तमी अर्थात् भाद्र २० गते २८।३ बजे अगस्ति उदाँउछन् । यसकारण भाद्र २१ गते अगस्त्योदय पश्चात् दूर्वाष्टमी मनाउन मिल्दैन ।

        धर्म सिन्धुको वचन अनुसार पनि सिंहार्कबाट २१ ॵ दिनमा अगस्त्योदय हुन्छ भन्ने १ नं. को शास्त्रीय आधार मान्दा श्रावण ३२ गते गुरू वार २८।५० बजे सिंहार्क भएकोले यो दिनबाट २१ दिन गणना गर्दा भाद्र २० गते नै अगस्त्योदय भैइसक्ने हुँदा भाद्र २१ गते दूर्वाष्टमी मनाउन मिलेन अगस्त्योदय भन्नाले अगस्त्य ऋषि अर्थात् अगस्ति ताराको उदयलाई जनाउँछ । यो दृश्य विषय हो । यसमा पुराणद्वारा अमुक दिनमा अगस्त्यको उदय हुन्छ भने पनि आकाशीय दृश्य सिद्ध विषयलाई त्याग गरी केवल प्राचीन वचन र अनुभव बाहिरको अदृश्य विषयलाई आधार मान्नु पनि उचित देखिन्न । यस्तै गरी ज्योतिर्गणितको अगस्त्यास्त र अगस्त्योदय को सूत्र अनुसार गणना गर्दा सूर्यले १३४ अंश ३ कला ४५ विकला भोग गर्दा भाद्र १५ गते अगस्त्योदय देखिन्छ । यो गणना वेधसिद्ध छ । यसबाट पनि भाद्र २१ गते दूर्वाष्टमी मनाउँदा अगस्त्योदय भै सकेको हुन्छ । अगस्त्योदय पश्चात् यो कृत्य गर्नु हुँदैन ।

 अतः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पञ्चाङ्गहरूमा उल्लेख गरिए अनुसार भाद्र ७ गते नै कुनै भ्रममा नपरी दूर्वाष्टमी पर्व मनाउनु उचित देखिन्छ । यसमा पर्व मनाउने तॏर ,तरिका, मूल्य र मान्यताका विषयहरू भने स्वकीय नै समुचित देखिन्छ ।