Brief History of Nepalese Panchanga

हामी समस्त नेपालीहरूको धर्म, संस्कृति मूल्य,मान्यता र परम्पराको संवाहक र निर्देशक कार्यतालीका भनेको पात्रो हो । पात्रो अर्थात पञ्चाङ्ग भन्नाले सामान्यतया तिथि, वार,नक्षत्र,योग, करण यी ५ विषयको बोध हुन्छ । तर आजकाल पात्रोमा उल्लिखित फलित, ज्योतिष, धर्मशास्त्र र नेपाली संस्कृतिपरक सबै विषयको यथार्थ ज्ञान गर्ने हो भने साधारण मानिस पनि ज्योतिषी र कर्मकाण्डी बन्न सक्दछ । यसकारण पात्रोको महत्व झन्–झन् बढ्दो छ र यसमा रखिने विषयहरू पनि समावेशिक लोकातन्त्रात्मक अवधारणा अनुसार विषयवस्तुहरू पनि बढ्दै छन् । यसलाई आ–आफ्नो साँस्कृतिक जागरणको मूर्तरूप मान्न करै लाग्दछ ।

पञ्चाङ्ग गणना गर्दा ग्रहस्पष्टीकरणको विशेष महत्व छ । स्पष्ट चन्द्रमा र स्पष्ट सूर्यको १२ अंशको फरकमा एक तिथि हुन्छ । स्पष्ट सूर्य र स्पष्ट चन्द्रमाको योगको प्रति ८०० कलाको १ योग हुन्छ । चन्द्रमाको योगको प्रति ८०० कला भोग गर्दा १ नक्षत्र हुन्छ । करण भनेको तिथिको आधा हो । सृष्ट्यारम्भको वारलाई आदित्य वार मानी आजसम्म बितेको दिनलाई ७ ले भाग गर्दा आउने शेष नै वर्तमान वार हो । ग्रहण, चन्दशृङ्गोन्नति,ग्रहहरूको उदय, अस्त, वक्र, मार्ग आदिको विश्लेषण यो सानो लेखमा सम्भव छैन तर पात्रोमा यी विषयको पनि उल्लेख पाइन्छ । व्रतः उत्सव, चाड, पर्व,यात्रा मुहूर्त आदिका विषयहरू धर्मशास्त्र,तन्त्र,आ–आफ्नो परम्वरा, मान्यता र प्रचलनमा आधारित छन् । पञ्चाङ्ग गणनाको थालनी कहिले देखि शुरू भयो होला भन्दा जहिलेदेखि दर्श पौर्णमासी योगादिका आधारमा गरिने धार्मिक कृत्यहरूको प्ररम्भ भयो त्यसैबेलादेखि पात्रोको गणनाक्रम पनि चल्यो होला भन्ने अनुमान गर्न सकिन्छ ।धार्मिक कृत्य अनादि भएकोले पञ्चाङ्गनिर्माण प्रक्रिया पनि अनादिनै सिद्घ हुन्छ । पछि गएर गणना पद्घतिमा केही परिष्कार हुनु स्वाभाविकै हो ।

नेपाली पात्रोको ऐतिहासिक पृष्ठभुमिमा प्रा.नयराज पन्तको भनाइ अनुसार– श्री ३ चन्द्रको शासन कालमा वि.स. १९६१ देखि तिथि लेख्ने पुरानो चलन हटाई गते लेख्ने चलन चलेको हो । त्यसै वर्षको फागुन संक्रान्ति कुनै पात्रोमा अगिल्लो दिन र कुनै पात्रोमा पछिल्लो दिन छापिएकोले अड्डाखानामा काम गर्दा असजिलो पर्न गएकोले श्री ३ चन्द्रले पण्डितको सभा गराई अवदेखि यस्तो नहोस् भनी पं. हेमराजशर्मालाई पञ्चाङ्ग संसोधन गराउने अभिभारा सुम्पियो । यसै बर्षदेखि पञ्चाङ्ग संसोधनको काम थालियो हेमराज अध्यक्ष भए पनि पञ्चाङ्ग सम्बन्धी सम्पूर्ण गणित हर्ने काम भने पंं. भुवननाथ पाण्डेको हातबाट हुन्थ्यो । यो क्रम वि.सं. २००० सम्म चल्यो । धर्मशास्त्रका विद्वान पं. हरिनाथ गौतमको भनाई अनुसार “संवत् १९४६ मा पं. तोयानाथ पन्तले पात्रो छपाए । निजको सो पात्रो हालसम्म निरन्तर रूपमा छापिर्दै आएको छ । हाल सो पात्रोेको प्रकाशन श्री सूर्यनाथ पन्तद्वारा हुँदैछ । वि.सं. १९६१ देखि पात्रो संशोधनको अभिभारा बोकेका नायव वडागुरुज्यू पं. हेमराज पाण्डेमा २००७ सालको प्रजातान्त्रिक राजनितिक परिवर्तनले गर्दा उनको हौसलामा कमी आउनु स्वाभाविकै थियो । २००७ साल अघि राणाहरुका विशेष प्रियपात्र र उच्चपदमा आसीन हुन पुगेका उनलाई प्रजातन्त्र पछि उदासीनता र अकर्मण्यताले हतोत्साहित बनाउनु स्वाभाविकै थियो । यसमा बुढ्यौली पनि थपिएको थियो । जे होस् २००७ सम्म पं. हेमराजशर्माको अध्यक्षतमा नै पात्रो संशोधित भयो । वि.सं. २००८ सालको वी.डी.के.आ.शि. पण्डित नारयण शास्त्री भट्टद्वारा प्रकाशित पञ्चाङ्गमा पञ्चाङ्ग संशोधन व्यक्ति वा संस्थाको नाम छैन ।

वि.स. २००९ को पात्रोमा डायरेक्टर नयनराज पाण्डेका अध्यक्षतामा तात्कालिक गणितज्ञ र धर्मशास्त्रीहरुबाट पञ्चाङ्ग संशोधन भएको बुझिन्छ किनभने २०१८ सालको ज्यो.पं बाबु रामको पात्रोमा स्वयं बाबुरामद्वारा नै संशोधन भएको लेखिएको छ ।

वि.सं. २०१९ सालको पात्रोमा श्री ५ को सरकारको अनुमति अनुसार धर्मरक्षा महामण्डलीय पञ्चाङ्ग विवेचक समितिद्वारा निर्णीत गणित व्रतोत्सवादिले सुशोभित भएको पञ्चाङ्ग भन्ने उल्लेख पाइएकोले श्री माधव संशेर। उपाध्यक्ष पं. श्री पद्म प्रसाद भट्टराई , सचिव पं. श्री बुद्धि सागर पराजुली र ज्यो.प्रा.श्री नयराज पन्तद्वारा पञ्चाङ्ग संशोधन भएको देखिन्छ । वि.सं २०२१ को पञ्चाङ्गमा संस्था वा मुख्य संशोधनको नाम उल्लेख नभएकोले वि.संं. २०२१ देखि २०२५ सालसम्म को को विद्वानले पात्रो संशोधन गरे थाहा भएन ।

वि.सं २०२६ देखि २०३० सम्म नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिद्वारा पात्रोको संशोधन गर्ने खास संस्थाको नाम भेटिएन । २०३४ सालको पात्रोमा श्री ५ को सरकार शिक्षा विभागीय पञ्चाङ्ग निर्णायक समितिद्वारा निर्णाीत गणित व्रतपर्वादिले सहित भएको पात्रो भन्ने उल्लेख पाइन्छ । वि.सं. २०३५ देखि नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समितिद्वारा पात्रो संशोधन भएको थियो । २०३४ सालको पात्रोलाई हेर्दा पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षको नाताले पात्रो संशोधन गरी पञ्चाङ्गकर्तालाई पात्रो छाप्ने अधिकार दिने र संशोधित पात्रो प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गर्ने तथा पञ्चाङ्गमा केही शङ्का भए खलारुपमा अध्यक्षले हस्ताक्षर गर्ने चलन समेत प्रा.डा. मङ्गलराज जोशीद्वारा कयम भयो । प्रा.डा. मङ्गलराज जोशीले पञ्चाङ्ग संसोधन गर्ने कार्य वि.स. २०६१ को पात्रो सम्म चल्यो ।