“यो हल्लैहल्लाको देश हो”

उपप्रा. पुरुषोत्तम भट्टराई

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, ज्योतिष विभागमा कार्यरत, पूर्वसदस्य, नेपाल पञ्चाङ्ग निर्णायक समिति


कवि भूपि शेरचनले भनेजस्तै नेपालमा कुनै न कुनै विषयको हल्लाले स्थान पाइरहन्छ । चाहे त्यो राजनीतिक विषय होस् वा सामाजिक, सांस्कृतिक वा अरू कुनै । यतिबेला नेपाली बजारमा फेरि एकपटक सनातन संस्कृतिमा गरिने अन्त्येष्टि संस्कार वा काजकिरियाको अवधिको विषयमा गरमागरम बहस शुरू भएको छ ।
हुन त यस्तो स्थिति नेपालमा पहिलेदेखि नै शुरू भएको हो । विना पूर्वतयारी लामो समयदेखि देशमा स्थापित राजसंस्थालाई पाखा लगाएर लोकतान्त्रिक गणतन्त्रको स्थापना गराई शुरू गरिएको क्रमभङ्गताले सर्वत्र स्थान पाएको छ तर त्यसको प्रभाव कस्तो भइरहेको छ र के हुनेछ भन्ने लेखाजोखा पटक्कै भएको छैन । संरचनाको स्वतः विनाश प्राकृतिक नियम हो तर बलजफ्ती र समयअगावै निम्त्याइएको विनाशबाट क्रमभङ्ग मात्र हुन्छ तर अग्रगमन हुनसक्दैन भन्ने कुरा देशका हरेक क्षेत्रका अगुवा भनाउँदाहरूले बुझ्नसकेका छैनन् वा बुझ्न चाहिरहेका छैनन् । त्यसैले हरेक क्षेत्र लथालिङ्ग र भताभुङ्ग छ अनि बाह्य प्रभाव विशेषरूपमा बढ्दो छ । 

धार्मिक एवं सांस्कृतिक क्रमभङ्गताबाट मात्र यहाँको मौलिकता र अस्तित्व मेट्न सकिन्छ भन्ने पूर्ण ज्ञान भएका पश्चिमाहरूको अभियानमा होमा हो मिलाएर आस्था मेटाउन लागिपरेका नामधारीहरूको क्रियाकलापबाट साधारण जनता आहत भएका छन् तर त्यसको विरुद्धमा बुलन्द आवाज उठाउने बलियो स्थान पाइरहेका छैनन् । जनताको नाममा गरिएको भनिएका हरेक क्रियाकलापबाट जनता आफैं पीडित र निरीहजस्तै बनिरहेका छन् । सांस्कृतिक अतिक्रमणको प्रत्यक्ष असर बहुसंख्यक सनातन हिन्दू धर्मावलम्बी समाजमा परेको छ ।

हरेक विषय र क्षेत्रलाई अदृश्य शक्तिको आडमा राजनैतिक बनाइएको छ । जनभावना विपरीत २०६३ सालमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । राष्ट्रको पहिचान मेटाइयो । सरकारकै तर्फबाट प्रत्यक्ष रूपमा सांस्कृतिक हस्तक्षेपको शृङ्खलाबद्ध रूपमा शुरूआत हुँदैगयो ।

०६५ सालमा नेपालको मात्र नभएर विश्वका सम्पूर्ण हिन्दूहरूको आस्थाको केन्द्र, सनातनीहरूको आराध्यदेवता, राष्ट्रदेव भगवान् पशुपतिनाथको पूजापरम्परामा अवरोध हुने गतिविधि सिर्जना गरियो ।

भारतमा धेरै अगाडि नै कुरा उठाइएको तर जनस्तरबाट अनुमोदन हुन नसकेको, सायन र निरयणको बहस उठाएर चाडपर्व सुधारको नाममा सांस्कृतिक विचलन ल्याउने अनि जे गरे पनि हुने रहेछ भन्ने बनाएर आस्तिक जनतामा भ्रम सिर्जना गरी अनास्था फैलाउन सक्रिय समूह, जुन त्यसभन्दा झन्डै एक दशक अघिदेखि नै क्रियाशील थियो, त्यसको गतिविधि पनि त्यही समयमा बढ्यो ।

सरकारले त्यस्तो गतिविधिलाई प्रश्रय मात्रै दिएन विश्वले अँगालेको इस्वी संवत् नेपालले पनि मुख्य रूपमा मान्ने भन्ने खालको अभिप्राय प्रकट गरी नेपालको राष्ट्रिय संवत् विक्रम संवतलाई प्रतिस्थापन गरी इस्वी संवतलाई नै राष्ट्रिय संवतको रूपमा मान्ने निर्णय गरेर त्यस्ताखाले गतिविधिलाई मलजल समेत गर्‍यो । त्यसो गर्दा पर्नजाने सकारात्मक वा नकारात्मक प्रभावको बारेमा अध्ययन नै नगरी गरिएको निर्णयका कारण आस्तिक जनताको विरोधका बावजुद सरकार एक कदम पछि हट्नुपर्‍यो । सरकारले गरेको निर्णय कार्यान्वयनको चरणमा पुगेर स्थगित भएको अवस्थामा छ । 

अहिले फेरि अर्को अध्याय शुरू भएको छ । संस्कार सुधार समाजको नाममा सनातनीहरूको काजकिरियाको अवधिका बारेमा बजारमा बहस आरम्भ भएको छ । यसबाट ठूलै प्रभाव पर्नसक्ने आँकलन आस्तिक जनताले गर्नथालेका छन् ।

हालसम्म आ–आफ्नो परम्परा अनुसार काजकिरिया गर्दा सरकारी वा निजीस्तरमा कार्यरत कर्मचारीहरूले बिदा पाउने प्रचलन रहिआएको छ । यो प्रथा विश्वभरि नै छ ।

त्यसो हुँदा सनातनीहरूले १३ दिन किरिया बिदा पाउने गरेका छन् । तर अब १३ दिन क्रिया बिदा दिएर विकास अवरुद्ध भएको हो भन्ने भ्रम सिर्जना गरेर त्यो सुविधा समेत खोस्ने प्रयासको लागि उक्साइँदै छ । बिदा काट्ने नाममा अन्य धर्मावलम्बीलाई पछि आएर मात्र दिन थालिएको बिदा काट्ने आँट सरकारले गरेन तर बहुसंख्यक सनातनी भएको देशमा सदियौंदेखि पाउँदै आएको कृष्ण जन्माष्टमी, रामनवमी, जनैपूर्णिमा जस्ता पर्वका बिदा काटिएका छन् । त्यसैले अब क्रिया बिदा पनि काटिन के बेर भनेर आस्तिक जनता त्रसित बनेका छन् । 

विश्वमा चलिआएका धर्म, संस्कृति र परम्परामा सनातन धर्म, संस्कृति र परम्परा नै उदात्त छ । तसर्थ यहाँ जति र जस्तोसुकै व्यक्तिहरू पनि अटाएका छन् । सनातनीहरूको सहिष्णुता पनि यति धेरै छ कि यसको फाइदा अरूले उठाइरहेका छन् । हुँदा हुँदा अहिले त यस्तो अवस्था आएको छ कि हाम्रो नामलाई पनि अरूहरूले तिम्रो नाम त यो पो हो, त्यो होइन भन्ने आँट गरिरहेका छन् । हाम्रा धार्मिक विधिनियमहरू पनि उनीहरूले नै बनाइदिन थालेका छन् ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै विश्वमा कहीँ नभएका गतिविधिहरू हाम्रोमा भइरहेका छन् । त्यसैले त सनातन विद्वत् परिषद्, नेपालले हाम्रो परम्परामा पहिल्यैदेखि नै चलिरहेको हुँदाहुँदै पनि फेरि सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै भन्ने पुस्तक प्रकाशित गर्न बाध्य हुनुपर्‍यो । 

संसारका हरेक समुदायका आफ्ना आफ्ना परम्परा रीतिरिवाज र चालचलनहरू हुन्छन् । हामी सनातनीहरूको आप्mनैखाले सुसंस्कृत परम्परा छ । पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्ने,  श्रुति, स्मृति र पुराणहरूलाई क्रमिक रूपमा प्रमाण मान्ने, गाई, ब्राह्मण, देवता, गुरु र अतिथिहरूको पूजा गर्ने , शिखा, सूत्र र वर्णाश्रम व्यवस्थामा विश्वास गर्ने पछिल्लो कालखण्डमा हिन्दूका नामले विश्वमा प्रसिद्ध सनातनीहरूको ४८ संस्कारको विषयमा गौतमधर्मसूत्रमा बताइएको पाइन्छ । संस्कारका विषयमा ८, १०, १३, १६, २५, ४० र ४८ अनेक गणना पाइन्छन् तर पनि १६ संस्कारहरूलाई मुख्य रूपमा मानिएको छ । असंस्कृत व्यक्ति त मोक्षको अधिकारी पनि हुन नसक्ने कुरा स्मृति ग्रन्थहरूमा बताइएको छ । 

धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थलाई सनातन धर्म र आस्तिक दर्शनको प्राण मानिन्छ । धर्मपूृर्वक अर्थको उपार्जन गर्दै विषयको उपभोग गर्ने र अन्त्यमा मोक्ष प्राप्त गर्ने लक्ष्य सनातनीहरूले राख्छन् र राख्नुपर्छ । आत्मा दुई किसिमको हुन्छ । जीवात्मा र परमात्मा । परमात्मा ब्रह्म वा ईश्वरीय सत्ता हो भने जन्म–मरणको चक्करमा पर्ने जीवात्मा हो जो परमात्माकै अंश हो । जीवात्माले परमात्माको आश्रय पाउनु नै मोक्षको स्थिति हो । पाञ्चभौतिक शरीरलाई चैतन्य तत्त्वले छोडेपछि पञ्चमहाभूत त तत्तत् स्थानमा लीन हुन्छ । आत्मस्वरूप उक्त चैतन्य तत्त्व भने संस्कृत भएमा योग्य स्थानमा जान्छ तर असंस्कृत भएमा यताउति भौंतारिइरहन्छ ।

यसलाई वर्तमान समयका वैज्ञानिकहरूले समेत मानेका छन् । भारतको (भाभा) परमाणु केन्द्रमा तीन वर्षसम्म कार्यरत एकजना वैज्ञानिकले भनेका थिए – शरीर सञ्चालन हुन्छ एकप्रकारको ऊर्जाले, त्यो ऊर्जा रहेसम्म शरीरमा कार्यक्षमता रहन्छ, त्यसले छोडेपछि मरेको भनिन्छ । त्यो ऊर्जा १२, १३ दिनसम्म संक्रामक बनेर घुमिरहन्छ । त्यसकारणले सनातन हिन्दू समाजले कसैको मृत्युपछि त्यस संक्रामक ऊर्जाबाट बच्नका लागि अन्त्येष्टि क्रियाका लागि १३ दिनको व्यवस्था बनाएको हो । दुःखको कुरा पश्चिमाहरूले सहजै बुझेको “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः” भन्ने विषयलाई नेपालका अगुवा भनाउँदाहरूले बुझ्नै सकेनन् वा बुझ्नै चाहेनन् । स्वधर्म र संस्कृति ठूलो हो र यसको सक्दो विस्तार गर्नुपर्छ भन्ने कुरा बुझेरै पश्चिमाहरू खुलेर लागिरहेका छन् तर त्यही कुरा नबुझेजस्तो गरेर नेपालका अगुवा भनाउँदाहरू उनीहरूलाई खुशी गराएर आफ्नो तुच्छ स्वार्थ पूरा गराउनका लागि त्यस्तो अवसर प्रदान गरिरहेका छन् र आफ्नो बिरासत मास्दैछन् । नव कालिदास बन्दैछन् ।    

शास्त्रप्रमाण नै सर्वोपरि  
हाम्रो मूल शास्त्र वेद हो । त्यसैले वेदाः प्रमाणम् भन्ने भनाइ प्रचलित भएको हो । मनुस्मृतिमा पनि श्रुति, स्मृति, शिष्ट धर्मानुयायीहरूको आचारपरम्परा, सदाचार र सदाचारी व्यक्तिको आफ्नो प्रिय कर्मलाई धर्मको मूल आधार मानिएको छ । 

वेदोऽखिलो धर्ममूलं स्मृतिशीले च तद्विदाम् ।
आचारश्चैव साधूनामात्मनस्तुष्टिरेव च ।।


वेदलाई विस्तार गर्न धर्मशास्त्र र पुराणहरू आविर्भाव भएका हुन् । शास्त्रनिर्दिष्ट विधिले शास्त्रानुकूल कर्म गर्नु नै धर्मसम्मत हुन्छ । वेदले निर्दिष्ट गरेको कर्म धर्म हो र तद् विपरीत आचरण अधर्म हो ।

वेदः प्रणिहितो धर्मः ह्यधर्मस्तद् विपर्ययः । 
जसले शास्त्रसम्मत विधानलाई छोडेर कर्म गर्दछ त्यसले न कुनै सिद्धि प्राप्त गर्दछ न त इहलौकिक एवं पारलौकिक सुख वा परम गति नै प्राप्त गर्दछ । कर्तव्य र अकर्तव्यको निर्णय शास्त्रबाटै हुन्छ भन्ने कुरा भगवद्गीतामा बताइएको छ । कर्तव्य र अकर्तव्यको निर्धारण गर्ने विषयमा शास्त्रवचन नै प्रमाण हुन्छ । त्यसैले शास्त्रोक्त विधानलाई बुझेर कर्म गर्नुपर्दछ । 

यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः । 
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ।।
तस्माच्छास्त्रं प्रमाणान्ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।। 


धार्मिक निर्णय शास्त्रसम्मत हुनुपर्छ 
जुन ग्रन्थले मानिसहरूको प्रवृत्ति र निवृत्तिको उपदेश गर्दछ त्यो शास्त्र हो । प्रवृत्ति भनेको लौकिक विषय र निवृत्ति भनेको मोक्षसम्बन्धी विषय हो । शास्त्रले प्राणीमात्रको हित र अहित हुने कारणको निर्धारण गर्दछ र हित हुने मार्गमा अघि बढ्नको लागि प्रेरित गर्दछ । त्यसैले हितानुशासनाच्छास्त्रम् भनेर शास्त्रको परिभाषा गरिएको पाइन्छ । शास्त्रानुकूल कर्म गर्ने व्यक्ति नै मनुष्य हो । मत्वा कर्माणि षीव्यन्ते इति मनुष्याः । शास्त्रानुकूल व्यवहार गर्नेलाई नर र मनपरि गर्नेलाई वानर भनिएको पाइन्छ ।

मतयो यत्र गच्छन्ति तत्र गच्छन्ति वानराः ।
शास्त्राणि यत्र गच्छन्ति तत्र गच्छन्ति ते नराः ।।


कसैको लहैलहैमा वा बहकाउमा लागेर गरिएको धार्मिक निर्णयले अन्ततोगत्वा आपैंmलाई हानि पुर्याउँछ । यो त शास्त्रसम्मत हुनुपर्छ । यसमा अल्पमत वा बहुमत कुनैले पनि अर्थ राख्दैन । शास्त्रसम्मत मत नै सर्वोपरि हुन्छ । 

धर्मशास्त्रको नियम कानूनभन्दा धेरै माथि  

यसको ज्वलन्त उदाहरण प्रायः इस्लाम र इसाई राष्ट्रहरूमा पाइन्छ । मस्जिद एवं चर्चका धर्मगुरुहरूले गरेको निर्णय नै राज्यको विधायिकाले मान्ने प्रचलन त्यहाँ देखिन्छ । पाप–धर्म, स्वर्ग–नर्क आ–आफ्ना आस्थाका विषय हुन् । हामी सनातनीहरूले मात्र आफ्नो धार्मिक कानूनलाई गुमाउँदै गएका छौं । राज्यको कानूनको त बेग्लै कुरा हुँदाहुँदा अब हाम्रो धार्मिक निर्णय पनि उनीहरूले नै गरिदिने कुचेष्टा गर्दैछन् । राज्य त्यसको सहयोगीजस्तै बन्दैछ ।

याज्ञवल्क्य, पराशर, वसिष्ठ प्रभृति आर्ष मनीषीहरूको असीम ज्ञान र अनुभवद्वारा ओतप्रोत चिन्तनको अनुसरण गरिरहेका हामीहरूलाई कुनै एनजीओ, आइएनजीओको प्रायोजनमा परिसंंस्कृत संस्कार संस्कृतिको स्वरूप बदल्न प्रेरित गरिन्छ । हाम्रा संस्कारहरू कसरी र कति दिनमा सम्पन्न गर्ने भन्ने विषयमा युनेस्कोले गोष्ठी गर्छ, क्रीतदासहरू त्यहाँ कुर्लन्छन्, हामी सनातनीहरू निरीह झैं बन्दैछौं । यो नै अहिलेको यथार्थ बनेको छ ।