शकुनशास्त्र र मानवसंस्कृति

उपप्रा. पुरुषोत्तम भट्टराई

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, ज्योतिष विभागमा कार्यरत, पूर्वसदस्य, नेपाल पञ्चाङ्ग निर्णायक समिति


१.१. विषय परिचय

संस्कृत वाङ्मयका विविध विधाहरूमध्ये ज्योतिष, आयुर्वेद र योगशास्त्र नै त्यस्ता विधा हुन् जसको सम्बन्ध सर्वसाधारणमा प्रत्यक्ष रूपमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि भइरहनेछ । यसमा कसैको विमति हुनसक्दैन । ज्योतिष वाङ्मय अन्तर्गतको शकुनशास्त्र अझ त्यस्तो विधा हो जसको सम्बन्ध विश्वका कुनै पनि मानव समुदायमा प्राचीन कालदेखि नै कुनै न कुनै रूपमा प्रत्यक्ष्य रूपमा रहिरहेको देखिन्छ चाहे त्यो अन्धविश्वासकै रूपमा किन नहोस् । शुभ र अशुभ गरी शकुनलाई दुई भागमा विभक्त गरी हेर्ने गरिन्छ । कुनै पनि नयाँ कामको आरम्भमा, यात्राको आरम्भमा, संस्कार वा धार्मिक कार्यको प्रारम्भमा विशेष गरी शुभाशुभ सङ्केतका रूपमा शकुनशास्त्रीय तथ्यको विचार–विश्लेषण गर्ने गरिन्छ । यात्राको समयमा बाटोमा रित्तो गाग्री (भाँडा) देख्दा, बिरालो वा सर्पले बाटो काट्दा गाडी रोकेर बसी अर्को गाडी गइसकेपछि जाने वा न्यून आवागमन हुने ठाउँमा ढुङ्गा फाली अपशकुन कटाएर जाने गरेका दृश्यहरू हामी सबैले देखेकै छौँ । दिग्देश, काल, धर्म–सम्प्रदाय र संस्कृतिको भिन्नताले शकुनको शुभाशुभ पक्षको मान्यता र विश्लेषण अलग–अलग हुनसक्ला तर शुभ वा अशुभ शकुन नमान्ने समाज संसारको कुनै पनि ठाउँमा छैन भन्दा अत्युक्ति हुँदैन । शकुनशास्त्रीय मान्यता मानव समुदायको अभिन्न अङ्गका रूपमा रहेको पाइन्छ । कुनै पनि शुभ कार्यको आरम्भ गर्दा साइत हेर्ने, बीच–बीचमा देखिने विघ्न–बाधालाई कार्यारम्भका अशुभ सङ्केतहरूसँग जोडेर हेर्ने संस्कृति हाम्रो समाजमा विद्यमान छ । जुनसुकै भाषा, भूगोल र जनसमुदायको इतिहास एवं पुराकथाहरूको अध्ययन गर्दा यो कुरा स्पष्ट रूपमा देख्न पाइन्छ । शकुन एउटा अभिन्न मानव संस्कृति नै बनिसकेको छ । यसैलाई यस लेखमा विषयवस्तुका रूपमा ग्रहण गरिएको छ ।

१.२. शकुन शास्त्रको उद्भव र विकास  

शकुनशास्त्रको प्रादुर्भाव कहिले भयो भनेर विचार गर्दा सनातन संस्कृति र सभ्यताको आरम्भसम्मै पुग्नुपर्ने हुन्छ । विशेष गरी वैदिक वाङ्मयका सूत्र ग्रन्थहरू, पौराणिक वाङ्मय, महाभारत, रामायण आदि सबै ग्रन्थहरूमा शकुनबारे प्रशस्त चर्चा–परिचर्चा गरिएको पाइन्छ । विश्व साहित्यकै सबैभन्दा जेठो मानिने आदिकाव्य वाल्मीकि रामायण र बृहत्तम काव्यग्रन्थ महाभारतमा शुभाशुभ शकुनका बारेमा प्रशस्त उल्लेख गरिएका छन् । ज्योतिषका प्रायः सबै संहिताग्रन्थहरू र मुहूर्तसम्बद्ध ग्रन्थहरूमा शकुनको शुभाशुभ पक्षहरूका बारेमा उल्लेख गरिएको छ । वर्तमानमा प्राप्त मानव आचार्य प्रणीत ज्योतिषका संहिता ग्रन्थहरूमध्ये जेठो र उत्तम ग्रन्थरत्न बृहत्संहितामा ८५औँ अध्यायदेखि ९५औं अध्यायसम्म गरी ११ अध्यायमा शकुनसिद्धान्त र शुभाशुभ शकुनको वर्णन गरिएको छ । ज्योतिषशास्त्रको स्कन्ध विभाजन गर्दा मुहूर्तशास्त्र र शकुनशास्त्रलाई संहिता अन्तर्गत नै राखिएको पाइए पनि कालान्तरमा स्वतन्त्र विधाका रूपमा यी दुवैको विकास भएको देखिन्छ । कतिपय समीक्षकहरूले त शकुनशास्त्रलाई ज्योतिषको पाँचौं अङ्गका रूपमा समेत उल्लेख गरेको  देखिन्छ । तिनीहरूका अनुसार सिद्धान्त, संहिता र होराका साथै केरली मत र शकुनशास्त्र गरी ज्योतिषशास्त्रको  पाँचवटा मुख्य अङ्गहरू हुन्छन् । जे होस् विधागत विकासको इतिहासलाई हेर्दा सुरुदेखि नै ज्योतिषको एउटा महत्त्वपूर्ण पक्षका रूपमा रहँदै आएको शकुनशास्त्र वर्तमानमा एउटा छुट्टै अस्तित्व बोकेको स्वतन्त्र विधाका रूपमा विकसित भइरहेको छ ।

१.३. शकुनको मान्यता र परम्परा एवं प्रभाव

हाम्रो समाजमा आठ (८) अङ्क वा बाह्र (१२) सङ्ख्यालाई नराम्रो मान्ने प्रचलन छ । कुनै ठाउँमा पङ्तिबद्ध भई बस्नुपरेमा आठौँ वा बाह्रौँ नम्बरमा पर्दा वा अस्पतालमा भर्ना हुँदा आठ वा बाह्र  नम्बर सिटमा परेमा कता–कता मनमा अशुभको आभास भए जस्तो हुने कुरा धेरैले गर्दछन् । पश्चिमाहरू तेह्र (१३) संख्यालाई अशुभ मान्छन् । यतिसम्म कि अस्पतालमा भर्ना हुनु पर्दा तेह्र (१३) नम्बरको शैयामा भर्ना हुन जो कोही पनि हिच्किचाउँछन् । शास्त्रीय मान्यताको रूपमा वा कतिपय ठाउँमा अन्धविश्वास परम्पराको रूपमै किन नहोस् शकुनको अस्तित्व रहिरहनुले  यसको जीवन्ततालाई पुष्टि गर्छ । शकुनलाई जुनसुकै रूपमा भए पनि सर्वत्र अवलम्बन गर्ने गरिएको पाइन्छ । पूर्व वा पश्चिम जतासुकैको किन नहोस् प्राचीन साहित्यको अध्ययनबाट पनि यस कुराको पुष्टि हुन्छ । साहित्य समाजको दर्पण हो । शकुनशास्त्रीय मान्यता र त्यसको परिपालनको परम्परा  एवं प्रभावका बारेमा जान्न पूर्व समयमा देखिएका शुभाशुभ शकुनको लक्षण अनुसार फल घटित हुन्छ कि हुँदैन भनेर गरिएको विश्लेषण महत्त्वपूर्ण हुन्छ ।

       शुभाशुभ शकुनको अनुमान हाम्रा वरिपरिका कतिपय प्राणीहरूको विशेष गतिविधिहरूबाट नै गर्न सकिन्छ । विशेष गरी गाई, गोरु, बाख्रा, कुकुर, मृग, स्याल, कछुवा, हात्ती, घोडा, काग, भद्राई चरो लगायतका पशुपन्छीहरूको गतिविधि र चेष्टा आदिका आधारमा शुभाशुभ सङ्केतहरू अध्ययन गर्न सकिने कुरा शकुन शास्त्रहरूमा उल्लेख गरिएका छन् । ती शास्त्रहरूको अध्ययन र अनुसन्धानका आधारमा  प्राणी विशेषको चेष्टा, गतिविधि आदि अवलोकन गरी शकुन वा अपशकुनको पूर्वानुमान गर्न सकिन्छ । कतिपय ऐतिहासिक साहित्यिक ग्रन्थहरूको अध्ययन गरेर पनि शकुन वा अपशकुन कसरी घटित हुँदा रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ । संस्कृत वाङ्मयको रामायण, महाभारत लगायतका ग्रन्थहरूमा यसको समुचित प्रयोग गरेको देखिन्छ । मानवेतर प्राणीहरूले भावी शुभाशुभ घटनाको सङ्केत कसरी गरिरहेका हुन्छन् र तिनीहरूको उचित जानकारी राख्दा मानिसहरू कसरी पहिल्यै सचेत बन्न सक्छन् ? र त्यसमा ध्यान नदिंदा कसरी  अलमलिन्छन् र दुःख पाउँछन् ? मानव संस्कृतिमा शकुनशास्त्रको प्रभाव कस्तो हुन्छ ? इत्यादि कुरा देखाउनका लागि रामायण र महाभारतका केही सन्दर्भहरू यहाँ उद्धधृत गरिएका छन् । 

१.३.१. वाल्मीकि रामायण

वाल्मीकि रामायणका विशेष प्रसङ्गहरूमा पूर्वसङ्केतका रूपमा  आएका शुभाशुभ शकुनका लक्षण अनुसारका यथार्थ फलहरू घटित भएका देखिन्छन् ।

१.३.१.१. जनकपुरमा राम– सीताका साथै चारै भाइको विवाह भएपछि राजा दशरथ सबैलाई लिएर अयोध्यातर्फ फर्कन थाल्छन् । त्यही समयमा बाटामा चराचुरुङ्गीहरूको दारुण क्रन्दन र मृगहरूको विपरीत परिक्रमा देखेर डराएका राजा दशरथले वसिष्ठलाई सोद्धा वसिष्ठले चराचुरुङ्गीको आवाज महाभयको उपस्थितिको सूचना दिन्छन् तर मृगको परिक्रमा त्यसको शमन हुने सूचना दिन्छ भन्छन् । परिणाम त्यस्तै भयो । आफ्ना गुरुको पिनाक धनु झङ्ग गरेकोमा क्रोधले आत्रान्त भएका भार्गवनन्दन परशुराम रामलाई दण्ड दिने भनेर आउँदा राजा सबैमा साक्षात् काल नै प्रवेश गरेजस्तो अनुभव गर्छन् तर पछि रामको प्रभावका अगाडि निस्तेज भएर उनी फर्कन्छन् (बालकाण्ड, ७४। ७–१९) ।

१.३.१.२. रामको वनगमनपछि पुत्रशोकले राजा दशरथको मृत्यु हुन्छ । त्यस समयमा भरत आफ्नो मावल केकय देशमा हुन्छन् । वसिष्ठले पाँचजना दूतहरू भरतलाई लिन पठाउँछन् । जुन राती ती दूतहरू केकय देशमा पुग्छन् त्यही रात भरतले खराब सपना देख्छन् र सम्भावित दुष्फलको परिकल्पना गर्छन् र त्यस्तै हुन्छ पनि (अयोध्याकाण्ड, ६९ सर्ग, ८–२१ श्लोक) ।

१.३.१.३. जटायुलाई समेत जितेर जब रावणले अपहरण गरिएकी सीतालाई लिएर अघि बढ्छ त्यस समयमा शुभाशुभ सङ्केतका रूपमा उपस्थित शकुनसम्बद्ध विषयलाई शोकले विह्वल भएकी सीता विचार गर्दै अगाडि बढ्दछिन् (अरण्यकाण्ड ५२।२) । पछि सङ्केत अनुकूल नै फल प्राप्ति हुन्छ ।

१.३.१.४. सीताको खोजी गर्दै गर्दा राम लक्ष्मणलाई भन्छन्– हे लक्ष्मण झ् मद्वारा सीताको बारेमा नसोधिए पनि यी मृगहरू बोल्नथाले झैँ मलाई हेर्छन्, यिनीहरूको सङ्केत बुझ्छु भनेर मृगलाई सोध्छन् । मृगहरू दक्षिणतर्फ आकाशमा शिर गर्दै त्यतै दौडन्छन् । पछि तिनको पदचिह्नको अनुसरण गर्दा सीताको आभूषणादि चिह्नहरू देखिन्छन् (अरण्यकाण्ड, ६४ । १५–२०) ।

१.३.१.१.५ सुवर्णमय मृगरूपधारी मारिचलाई मारेर फर्कंदा पोथी स्यालहरू रुँदै रामका पछि पछि लाग्छन् । त्यसबाट अनिष्टको सङ्केत पाएर अगाडि बढेका रामलाई मृगपक्षीहरूले  सव्य फरिक्रमा गर्दै दारुण त्रन्दन गर्छन् । आफूतिरै आइरहेका लक्ष्मणलाई देखेर रामले भावी अनिष्टको सङ्केत गर्छन् । उता सीता हरिन्छिन् (अरण्यकाण्ड ७५। २–२३ श्लोक) ।

१.३.१.६. अशोकवाटिकामा राखिएकी सीतालाई  दुःख सहन गर्दै बस्न र छिट्टै राक्षसहरूको नाश हुने सङ्केतसूचक सपना देखेको कुरा त्रिजटाले बताएकी छे । अन्त्यमा परिणाम पनि त्यस्तै हुन्छ  (सुन्दरकाण्ड, २७ । ९–२५ श्लोक) ।

१.३.१.७. अशोकवृक्षको हाँगामा केशपाशमा झुण्डिएर आत्महत्या गर्न उद्यत सीता आफ्नो अङ्गस्फुरणजन्य शुभ सङ्केतहरूको अनुभव गर्छिन् र शोकरहित हुन्छिन् (सुन्दरकाण्ड २९ । १–८ श्लोक) ।

१.३.१.८. सीतालाई अपहरण गरेर लङ्कामा ल्याएपछि राज्यमा अमङ्गलसूचक सङ्केतहरू प्राप्त भएको कुरा विभीषणले रावणलाई भन्छन् (युद्धकाण्ड, १०।१५–२१ श्लोक) । सम्भावित अमङ्गलको कुरा दर्शाउँदै सीतालाई ससम्मान फिर्ता गर्नुपर्छ भन्दा रिसाएको रावणले विभीषणलाई नै राज्यबाट निकालिदिन्छ । पछि आफ्नै पराजय हुन्छ ।

१.३.१.९. रामले लक्ष्मणलाई लोकको अहित हुने उत्पातसूचक लक्षणहरू देखेको कुरा बताएका छन् । पछि त्यस्तै भयो (युद्धकाण्ड २३। ४–१२२ श्लोक) ।

१.३.१.१०. राम र रावणको मुख्य युद्धको प्रसङ्गमा एकै समयमा रामतर्फ विजयसूचक सङ्केत र रावणतर्फ पराजयसूचक उत्पातका लक्षणहरू देखिएका छन् (युद्धकाण्ड, १०६। २०–३५ श्लोक) ।

यी महत्त्वपूर्ण घटनाका अतिरिक्त अन्य कतिपय स्थानहरूमा समेत शुभाशुभ निमित्तहरू वाल्मीकि रामायणमा वर्णित छन् ।

१.३.२. महाभारत

संसारकै सबैभन्दा ठूलो र संस्कृत साहित्य वाङ्मयको बृहत्तम महाकाव्य महाभारतमा पछि यथातथ्य रूपमा घटित भएका शुभाशुभ निमित्तका पूर्वसङ्केतहरू प्रशस्तै भेटिन्छन् । भीमकाय ग्रन्थमा यत्रतत्र उल्लेख भएका शकुनसम्बद्ध सबै प्रसङ्गहरूको प्रस्तुति एउटा संक्षिप्त लेखमा असम्भव हुने हुँदा दिङ्मात्र प्रस्तुति निम्नरूपमा गरिएको छ ।

महाभारतमा श्राप र वरदानको प्रसङ्ग यत्रतत्र पाइन्छ । अन्जानवश मृगरूपधारी मुनिको वध र त्यसपछि राजा पाण्डुलाई पर्न गएको श्राप अपशकुनको सङ्केत हो जसका कारण राजा पाण्डुको दाम्पत्य निरस एवं निरर्थक बन्न पुग्यो । शिशुपालको जन्म र मृत्युसँग पनि त्यस्तै प्रसङ्ग जोडिएको छ । शिशुपाल जन्मदा तीन आँखा र चार हातले युक्त थियो जसलाई शिशुपालको जीवनको र उसको जन्म भएको चेदी राजवंशको मात्र नभएर  महाभारतमा घटित नरसंहारमय मूल घटनाकै उत्पातको सूचक मानिएको छ । उसको अनौठो रूप देखेर डराइरहेका बाबु–आमालाई सम्बोधन गर्दै जसको काखमा राख्दा एउटा आँखा र दुइटा हात नष्ट हुन्छ त्यसैको हातबाट उसको मृत्यु हुन्छ भन्ने आकाशवाणी हुन्छ । उनीहरू अनौठो बालक हेर्न आएका सबैको काखमा बालकलाई राखिदिन्छन् । शिशुपाल भगवान कृष्णको आफ्नै फुपूको छोरो हो । हेर्न आएका कृष्णको काखमा पर्दा उसको आँखा र हात नष्ट भएकोले  फुपू डराएर आफ्नो पुत्र शिशुपाललाई क्षमा गर्न भन्छिन् । कृष्णले सय अपराधसम्म सहने प्रतिबद्धता गर्छन् (सभापर्व, अध्याय ४३, श्लोक १–२५) । पछि युधिष्ठिरको राजसूय यज्ञमा आफ्नो वचनबद्धता अनुसार एकसय गाली सहेर क्षमा दिएका कृष्णको हातबाटै शिशुपालको मृत्यु हुन्छ । उल्लिखित दुवै घटना सामान्य जस्तो लागे पनि महाभारतको मूल यिनै घटना हुन् ।

युधिष्ठिरको राजसूय यज्ञमा नारदजीले कृष्णको दर्शन गर्दै मनमनमा विष्णुद्वारा भू–भार हरण गर्ने कुरा पुरा हुन लागेको लक्षण देख्दछन् । उनी दिव्य, आन्तरिक्ष र भौम तीनै किसिमको उत्पात हुन्छ भन्छन् । पछि राजसूय यज्ञको समाप्तिपछि अतिथिका रूपमा शिष्य सहित आएका वेदव्यासलाई विदा हुने क्रममा युधिष्ठिरले नारदले भनेबमोजिमको उत्पात शिशुपालको मृृत्युसँगै टर्यो कि बाँकी छ ? भन्ने शङ्का व्यक्त गर्दछन् । युधिष्ठिरको शङ्का समाधान गर्दै व्यासले युधिष्ठिर आफैं निमित्त भएर दुर्योधनको अपराध एवं भीम र अर्जुनको पराक्रमद्वारा पृथ्वीका समस्त क्षत्रियको विनाश भएपछि मात्र नारदजीले भनेको उत्पात शान्त हुने भविष्यवाणी गर्दछन् । व्यासले उक्त विनाशको समय आएपछि पूवसङ्केतका रूपमा रात्रिको अन्त्यमा वृषमाथि सवार शिवजी दक्षिणदिशातिर लागेको कुरा युधिष्ठिरले सपनामा देख्नेछन् भनेर बताएका छन् (सभापर्व, अध्याय ४६) । उक्त स्वप्न नै यहाँ अपशकुनका रूपमा देखिएको छ ।

सपनामा हिंस्रक पशुहरूले युधिष्ठिरसँग आएर रक्षाको याचना गर्दछन् । पछि आफ्ना भाइहरूसँग सल्लाह गरेर पाण्डवहरू द्वैतवनबाट काम्यकवनमा बसाइँसराइ गर्दछन् (वनपर्व अन्तर्गत मृगस्वप्नोद्भव पर्व, अध्याय २५८) । उक्त सपना द्वैतवनका प्राणीहरूको रक्षा र पाण्डवहरूको भविष्यको लागि शक्ति सञ्चयको निमित्त बनेको छ ।

अभिमन्युको वधपछि  नाना प्रकारका अशुभसूचक सङ्केतहरू कौरव सेनामा देखिएको छ (द्रोणपर्व, अध्याय ७७) । अर्जुनले सपनामा कृष्णसहित भएर शिवजीको पूजा गरेको र पुनः पाशुपतास्त्र प्राप्त गरेको कुरा देख्दछन् । उता कृष्णले आफैँ रात्रिको समयमा शिवजीको पूजा आराधना गरेर भोलिपल्टको सूर्यास्तअघि नै जयद्रथको वध गरेर आत्मरक्षा गर्ने अर्जुनको प्रतिज्ञा पूरा गर्नलाई मद्दत गर्दछन् (द्रोणपर्व, ७९–८१ अध्याय) । युधिष्ठिरले राज्यमा अपशकुनसूचक उत्पातहरू देख्दछन् उता यादववंशको विनाश हुन्छ (मुसलपर्व, अध्याय १) ।

यसरी हेर्दा महाभारतका हरेक घटनाहरूको निमित्तका रूपमा पूर्वसङ्केत बनेर शकुन वा अपशकुनको उदय भएको देखिन्छ ।

१.३.३. नेपाली साहित्य वाङ्मयमा शकुनको सन्दर्भ

नेपाली वाङ्मय अन्तर्गतका विविध साहित्यिक विधाहरूमा पनि शकुनको सन्दर्भ उल्लेख गरिएको देखिन्छ  । घटनाको सूचकका रूपमा शकुन वा अपशकुनको मान्यतालाई प्रश्रय दिइएका उदाहरणहरू प्रशस्तै पाइन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको  लोकप्रिय खण्डकाव्य मुनामदन, राष्ट्रकवि माधवप्रसाद घिमिरेको ऐतिहासिक खण्डकाव्य राजेश्वरी, पुरुषोत्तमशमशेर ज.ब.रा.को ऐतिहासिक रचना श्री ३ हरूको तथ्य वृत्तान्त लगायतका कृतिहरूमा पूर्वानुमानित शकुनको यथार्थ घटनासन्दर्भ उल्लेख गर्दै त्यस्ता सङ्केतहरू जहिले पनि सत्य र सही साबित हुने कुरा सटिक रूपमा देखाइएको छ । काल्पनिक आख्यानहरूमा यस्तो पाइनुलाई सामान्य मानिए पनि तथ्यमा आधारित ऐतिहासिक रचनाहरूमा घटनाको निमित्त सङ्केतका रूपमा शकुन वा अपशकुन देखिनुलाई सामान्य संयोग मात्र मान्न मिल्दैन ।

स्वप्नलाई पनि शुभाशुभ शकुन वा सङ्केतकै रूपमा हेर्ने गरिन्छ । नेपाली साहित्यिक रचनाहरूमा पनि यसको प्रशस्त प्रयोग पाइन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लोकप्रिय खण्डकाव्य मुनामदनको प्रारम्भमै वियोगान्तको सङ्केत गरेका छन् । भोट जान तयार भएका मदनलाई मुना रुँदै रोक्न खोज्छिन् । मनमा विरहरूपी अग्नि जलाएर जानुभन्दा बरू विष पिलाए उत्तम हुने भन्दै कता–कता अनिष्टको सङ्केत गर्न पुग्छिन् । पछि सपनामा मुनालाई भैँसीले लखेट्छ, उता बाटामा मदन बिरामी पर्छन् ।

स्वाथी साथीभाइले जङ्गलमा एक्लै छोडेका मदनलाई भोटेले घरमा लगी उपचार गरेर सञ्चो बनाएपछि घर पठाउँछ । घर फर्कंदा कुतीमा एउटा पीपलको बोटमा कागले मदनलाई अशुभको सङ्केत दिन्छ । हाँगाबाट ओर्लेर नजिकै आई छड्के घाँटी लगाएर काग कराउँछ । मदनको घरमा राती कुकुर भुक्छ । आमाको अन्तिम प्रयाण कुरेर सेवा गरी बसिरहेकी मुनालाई गुण्डाले छल गरेर मदनको मृत्यु भएको चिठी पठाउँछ । पीरले मुनाको मृत्यु हुन्छ । मदनले मुनाको मुख हेर्न पाउँदैनन् । आमासँग बोल्न पाउँदैनन् । आउने बित्तिकै उनको आमाको पनि मृत्यु हुन्छ । यसरी देवकोटाको मुनामदनका हरेक घटनामा पूर्वदृष्ट अपशकुनले काम गरेको छ ।

माधवप्रसाद घिमिरेद्वारा लिखित ऐतिहासिक खण्डकाव्य राजेश्वरीमा पनि पतिपरित्यक्ताका रूपमा  हेलम्बुमा निर्वासित जीवन बिताइरहेकी राजेश्वरीले विभिन्न अपशकुनहरू देख्छिन् । त्यसको लगत्तै काठमाडौँबाट गएका दूत र सिपाहीहरूले उनलाई राजाको जाली सन्देश सुनाएर झुक्याई काठमाडौँमा ल्याउँछन् र सती जान बाध्य पार्दछन् ।

मानवेतर प्राणीबाट भावी उत्पातको पूर्वसूचना कसरी प्राप्त हुन्छ भन्ने कुरा हेर्न एउटा यथार्थ घटनामा आधारित पुरुषोत्तमशमशेर ज.ब.रा.को श्री ३ हरूको तथ्य वृत्तान्तको एउटा घटनालाई हेर्न सकिन्छ ।  

१.३.३.१. श्री ३ हरूको तथ्य वृत्तान्त  

       नेपाली इतिहासका लेखक एवं ऐतिहासिक साहित्यकार पुरुषोत्तमशमशेर ज.ब.रा.ले आफ्नो रचनामा श्री ३ चन्द्रशमशेरको शिकारयाक्राको वर्णन गर्ने त्रममा यात्रापूर्व सङ्केतका रूपमा देखिएको तर अनुमान गर्न नसकिएको  अपशकुनसूचक एउटा सत्य र तथ्यपरक घटनाका रूपमा एउटा हात्तीले कसरी भावी अशुभको सङ्केत गरेको थियो भन्ने कुरालाई यसरी जीवन्त वर्णन गरेका छन्—

       फेब्रुवरी १९०६ ई. मा भावी सम्राट “प्रिन्स–अफ–वेल्स–एचष्लअभ–या–धबभिक” प्रिन्स जर्ज नेपालको तराई चितवनको जङ्गलमा शिकारको निमित्त आउने भई सबै बन्दोवस्त भयो । श्री ३ चन्द्र स्वागतार्थ आफैं चितवनतर्फ जाने भए । उनले प्रिन्सलाई जिउँदा जनावर र जिउँदा चराहरू उपहारस्वरूप प्रदान गर्ने प्रबन्ध गरे ।

       यस शिकारको निमित्त काठमाडौँ नक्साल हात्तीसारमा राखिएको विजुलीप्रसाद नामक मकुना हात्तीलाई सम्बोधन गरिएको श्री ३ महाराजको “खड्ग निशाना–इस्तिहार” पढी सुनाउँदा पनि सो विजुलीप्रसाद हात्ती डेग चलेन । यो सुचना पाई श्री ३ चन्द्र साँझ हावा खान निस्कँदा बग्गीद्वारा नक्साल हात्तीसारमा पुगे र उनले विजुलीप्रसाद हात्तीलाई सम्बोधन गरी– “हाम्रो खड्ग निशाना सुनाउँदा पनि नटेरी चितवनतर्फ नजाने” भनी रिसाई तुरुन्त तराई चितवनतर्फ जानु भन्ने आदेश दिए । साथै विजुलीप्रसाद हात्तीको दाना समेत घटाईदिनु भन्ने उर्दी दिएकाले दानासमेत घटाइयो । त्यसपछि सो विजुलीप्रसाद हात्तीले आँखाबाट आँसु चुहाउँदै चितवनतर्फ हिँड्यो ।

       प्रिन्स शिकारको लागि चितवन आइपुग्नु अगावै श्री ३ चन्द्र आफैले बाघको शिकार खेले । घेराभित्रको बाघलाई श्री ३ चन्द्रले गोली हाने, बाघ घाइते भई हात्तीमाथि उर्फ्यो र माहुतेको तिघ्रा बाघले कोपर्नुको साथै श्री ३ चन्द्र चढेको हौदालाई समेत बाघले समाति तान्द्या हौदा कोल्टे पर्‍यो जसले गर्दा सो हौदाबाट श्री ३ चन्द्र जमीनमा पछारिन पुगे । श्री ३ चन्द्र पछारिएको देखी उनका हजुरिया कर्णेल दलबहादुर बस्नेत सोही हात्तीबाट तुरुन्तै हामफाली घोप्टो परी श्री ३ चन्द्रलाई आफ्नो शरीरले छोपे । तुरुन्तै  अर्को हात्ती त्यहाँ बसाली श्री ३ चन्द्र र दलबहादुर बस्नेतहरु सो हात्तीमा चढाई हात्ती भगाए । श्री ३ चन्द्रलाई कुनै प्रकारको चोट पटक–लागेन तापनि प्रशस्त आराम गरी बसे ।

केही दिनमै त्यस जङ्गलमा भयंकर “हैजा फैलियो । प्रिन्सको शिकार स्थगित गर्न करै लाग्यो । प्रिन्स नेपाल तराई नआई भारतबाटै फर्कने भएकाले श्री ३ चन्द्रले प्रवन्ध गरेका जिउँदा जनावर र जिउँदा चराहरू उपहार स्वरूप प्रदान गरी भारततर्फ पठाइयो । दिनप्रतिदिन “हैजा” चम्कँदै गयो । दिनदिनै सयौँ व्यक्तिको मृत्यु हुन थाल्यो । “हैजा” ले उग्ररूप लिन थाल्यो, चन्द्रशमशेरको होशहवास गुम भयो । शिकार सवारी छोडेर भागा–भाग गर्न थाले । श्री ३ चन्द्र जङ्गल छोडी भाग्न लाग्दा त्यस ठाउँको बन्दोबस्त र औषधि उपचारका निमित्त रुद्रशमशेरलाई शिकार क्याम्पमै छाडी जिम्मा लगाई भागे । काठमाडौँ फर्कदा बाटोमा समेत धेरैको मृत्यु भयो । काठमाडौँमा पनि हैजाको प्रकोप दिनप्रतिदिन बढ्दै गयो । बडो मुस्किलसँग केही महिनापछि मात्र सो हैजा नियन्त्रणमा ल्याउन सफल भए ।

       चितवनबाट फर्केपछि श्री ३ चन्द्र आफै काठमाडौँ स्थित नक्साल हात्तीसारमा गए र उनले विजुलीप्रसाद हात्तीसँग हातजोरी– “तिमीले जनाउ त दिएका हौ, तर मैले बुझ्न सकिनँ तसर्थ माफी पाउँ” भनी माफी मागे । त्यसपछि पहिले ठेकिएको दानाको दोब्बर दाना ठेकिदिए । साथै विजुलीप्रसादको स्याहार–सुसारका लागि अरू दुइवटा ढोई हात्ती थप गरिदिए । यसरी जम्मा चारवटा ढोई हात्तीले विजुलीप्रसादको स्याहार सुसार गर्ने भए । सो स्याहार–सुसार गर्ने सुसारे ढोई हात्तीहरूको कार्य बिजुलीप्रसाद हात्तीलाई घाँस बोकी ल्याउने, नुहाईदिने, सो ढोई हात्तीहरूका माहुते पछुवाहरूद्वारा विजुलीप्रसादको निमित्त “कुची” बनाई खान दिने र अरू परिआएका कार्यहरू समेत गर्ने गर्दथे (ज.ब.रा., २०६५ः६९–७१) ।

१.४. उपसंहार

कुनै पनि कार्य वा यात्रा आदिको आरम्भमा देखिने शुभ वा अशुभ सङ्केतलाई शकुन भनिन्छ । सामान्यतया शुभ सङ्केतलाई शकुन र अशुभ सङ्केतलाई अपशकुनका रूपमा बुझ्ने गरिन्छ । शकुनको मान्यताले एउटा अभिन्न मानव संस्कृतिकै रूप धारण गरिसकेको छ । धर्म, संस्कृति, भाषा, भूगोल आदिका भिन्नताका कारण शकुनगत मान्यतामा केही भिन्नता हुनसक्ला तर शकुनगत मान्यताको कुनै पनि पक्षलाई नमान्ने मानव समुदाय संसारमा कहीँ पनि छैन । वैदिक वाङ्मयदेखि पौराणिक वाङ्मय, रामायण, महाभारत सर्वत्र शकुनको चर्चा–परिचर्चा पाइन्छ । समाजको यथार्थ प्रतिबिम्ब प्रस्तुत गर्ने साहित्यिक रचनाहरूको अध्ययनबाट पनि समाजमा विद्यमान शकुनगत मान्यताको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । कतिपय मानवेतर प्राणीहरूले मानवजाति र हाम्रो वातावरणमा हुने हित र अहितका बारेमा पूर्वसङ्केतहरू गरिरहेका हुन्छन् । ती सङ्केतहरूको अर्थ बुझ्न र पूर्व रूपमा सचेत बन्नका लागि शकुनशास्त्रको अध्ययन र अनुसन्धान गर्नु जरुरी छ । कतिपय तथ्यपरक  ऐतिहासिक सामग्रीको अध्ययनबाट पूर्वदृष्ट शुभाशुभ सङ्केतहरूले भावी घटनाका बारेमा कसरी पूर्व सूचना प्रदान गरिरहेका हुन्छन् र पछि देखिएका तिनका प्रभावबाट शकुनशास्क्रोत्त मान्यताहरू कसरी सिद्ध भइरहेका छन् र स्थापित भइरहेका छन् भन्ने कुराको पुष्टि हुन्छ ।

सन्दर्भ ग्रन्थहरू

—आचार्य, वराहमिहिर (वि.सं.२०५४), बृहत्संहिता, (अभिनवहिन्दीभाष्य, खण्ड १ र २), दिल्ली : रञ्जन प्रकाशन ।

—ज.ब.रा., पुरुषेत्तमशमशेर (वि.सं.२०६५), श्री ३ हरूको तथ्यवृत्तान्त   -भाग–२), काठमाण्डौं: विद्यार्थी पुस्तक

भण्डार ।

—देवकोटा, लक्ष्मीप्रसाद (वि.सं. २०५२), मुनामदन (बाइसौँ सं.), काठमाण्डौँ: साझा प्रकाशन ।

—महर्षि वाल्मीकि (वि.सं. २०५८), वाल्मीकिरामायण (प्रथम भाग, तेइसौं सं.), गोरखपुर:

गीताप्रेस गोविन्द भवन कार्यालय ।

—महर्षि वाल्मीकि (वि.सं. २०५८), वाल्मीकिरामायण (द्वितीय भाग, तेइसौं सं.), गोरखपुर:

गीताप्रेस गोविन्द भवन कार्यालय ।

—वेदव्यास (वि.सं.२०७३), महाभारत (प्रथम–षष्ठ खण्ड, एकतीसौं सं.), गोरखपुर: गीताप्रेस ।