पौरस्त्य ज्योतिष वाङ्मयमा भूकम्पचर्चा

उपप्रा. पुरुषोत्तम भट्टराई

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, ज्योतिष विभागमा कार्यरत, पूर्वसदस्य, नेपाल पञ्चाङ्ग निर्णायक समिति


१.१. विषयप्रवेश

समस्त भूमण्डलको पौरस्त्य–पाश्चात्त्य दिग् विभाजनमा एशिया महाद्वीप र यूरोप महाद्वीपको मध्यभागमा अवस्थित युराल पर्वतमालालाई विभाजक रेखा मानिन्छ तापनि यूरोप मूलसभ्यताको प्रभाव क्षेत्र अन्तर्गतको भूभागलाई पाश्चात्य संसार र भारतवर्षीय मूलसभ्यताको प्रभाव क्षेत्र अन्तर्गतको भूभागलाई पौरस्त्य संसार मानिन्छ । पाश्चात्य संसारको प्राज्ञिक परम्पराको मूल स्रोत ग्रीक एवं ल्याटिन भाषासम्बद्ध वाङ्मय हो भने पौरस्त्य संसारको प्राज्ञिक परम्पराको मूल स्रोत भारतवर्षीय संस्कृत वाङ्मय परम्परा नै हो । मूलतः भारतवर्षीय आर्षसभ्यतालाई नै पौरस्त्य सभ्यता भनिन्छ ।

कुनै पनि क्षेत्रमा सभ्यताको विकासका लागि त्यहाँको भाषा, भूगोल, इतिहास, शिक्षा, संस्कृति र परम्पराको महत्त्वपूर्ण भूमिका हुन्छ । प्राचीन भारतवर्ष, संस्कृत भाषा, सनातन संस्कृति र तिनबाट सिर्जित हाम्रो गौरवपूर्ण इतिहास पौरस्त्य सभ्यताका परिपूरक हुन् । पौरस्त्य वाङ्मयका विविध विधाहरूमध्ये ज्योतिष, योग, एवं आयुर्वेद त्यस्ता विधा हुन् जुन विगतदेखि वर्तमानसम्म नै सामान्य जनजीवनसँग पनि जोडिएका छन् ।

         हामी माथिको अपरिमित गोलो आकाशमा जति पनि तेजोमय बिम्बहरू छन् ती सबैलाई समग्रमा ज्योतिः शब्दद्वारा बुझाइन्छ । ती प्रकाशित पिण्डहरूमा सधैँ एकैनास देखिने पिण्डहरू नक्षत्र हुन् भने प्रतिदिन भिन्न–भिन्न स्वरूपमा देखिने पिण्डहरू ग्रह हुन् । तिनै आकाशीय पिण्डहरूको गतिस्थिति एवं प्रभावको अध्ययन गर्ने शास्त्रलाई नै ज्योतिषशास्त्र भनिन्छ । ज्योतिष विधासम्बद्ध वाङ्मय नै ज्योतिष वाङ्मय हो । मूलतः संस्कृत भाषामा लेखिएका र ब्रह्मादि मुनिपरम्पराबाट विस्तार भएर गर्ग, पराशर, वसिष्ठ, कश्यप प्रभृति ऋषिवर्यहरूको अनुभूत ज्ञान एवं आर्यभट, वराहमिहिर, ब्रह्मगुप्त, भास्कराचार्य, मुनीश्वर, कल्याणवर्मा, वैद्यनाथ, कमलाकर प्रभृति ज्योतिर्विद्हरूका वरद लेखनीका माध्यमबाट विकसित वाङ्मय नै पौरस्त्य ज्योतिषवाङ्मय हो । प्राचीनकालदेखि अर्वाचीनकालसम्म उत्तिकै महत्त्व भएको ज्योतिषशास्त्रको संहिता भागमा भूकम्पसम्बन्धी चर्चा परिचर्चा गरिएको पाइन्छ । त्यसैको संक्षिप्त दिग्दर्शन यस लेखमा गरिएको छ ।

१.२. भूकम्प र यसको कारण
१.२.१. भूकम्प
        संस्कृत भाषामा हामी बस्ने पृथ्वीलाई भूमि एवं भू मात्र पनि भनिन्छ । त्यसैले भूमिमा उत्पन्न हुने कम्पन नै भू–कम्प हो । नेपालीमा भुईं मात्र पनि भनिन्छ । तसर्थ भूमिमा उत्पन्न हुने चाललाई लक्ष्य गरेर नेपाली भाषामा भुइँचालो भन्ने गरिएको हो । यस्तै अंग्रेजी भाषामा  Earthquake शब्दले यसको अर्थ द्योतन गर्दछ । पौरस्त्य ज्योतिष वाङ्मयमा सम्पूर्ण ब्रह्माण्डलाई नै चलायमान मानिएको छ । यति हुँदा हुँदै पनि पिण्डहरूको गतिस्थिति ज्ञान गर्नका लागि सापेक्षताका आधारमा स्थिर एवं चल मानी गणना गर्ने परम्परा अँगालिएको छ । यसैको फलस्वरूप स्थिर मानिएकाले पृथ्वीलाई अचला  पनि भनिन्छ । पृथ्वी स्थिर छ भनेर यो नाम राखिएको पटक्कै होइन, स्थिर मानेर गणना गर्ने परम्पराले गर्दा मात्र हो । पञ्चमहाभूतहरूमध्ये अरुको सापेक्ष्यतामा स्थिर भएकोले पनि अचला नाम सार्थक देखिन्छ । त्यसो त पाश्चात्य मतका आधारमा सूर्यलाई स्थिर मानेर गणना गर्ने गरिन्छ जुन कुरा सामान्य रूपमा भन्दा व्यावहारिक अनुभव विरुद्ध देखिन्छ । किनभने सामान्यरूपमा हरेक मानिसले पृथ्वीको नभई सूर्यकै गति अनुभव गरिरहेको हुन्छ । तर सूर्यलाई स्थिर मानेर गरिएको गणना र पृथ्वीलाई स्थिर मानेर गरिएको गणनामा तात्विक रूपमा परिणाममा भिन्नता आउँदैन । किनकि दुवै सापेक्ष गणना हुन् । जस्तो पृथ्वीलाई स्थिर एवं सूर्यलाई गतिमान् मानेर गरिएको प्राचीन गणना पद्धतिअनुसारको सूर्यग्रहण, चन्द्रग्रहण एवं ग्रहहरूको उदयास्त र सूर्यलाई स्थिर एवं पृथ्वीलाई गतिमान् मानेर गरिएको आधुनिक गणनाविधि अनुसारको सूर्यग्रहण, चन्द्रग्रहण एवं ग्रहहरूको उदयास्त फरक नभई एकै समयमा आउँछ ।
         पृथ्वी गतिमान छ तर पनि यसको नित्य गतिको अनुभव सामान्यरूपमा हुँदैन । कहिलेकाहीँ निश्चित भूभागमा असामान्य चाल उत्पन्न हुन्छ, यसैलाई भूकम्प भनिन्छ । भूकम्प किन हुन्छ, कहिले हुन्छ भन्ने सन्दर्भमा पौरस्त्य एवं पाश्चात्य क्षेत्रमा लामो अनुसन्धान हुँदै आएको छ । यति हुँदाहुँदै पनि संसारमा आजसम्म निश्चित गरेर किटानीका साथ यतिखेर हुन्छ भनेर भविष्यवाणी गर्न नसकिएको विषय हो भूकम्प । भूकम्पसम्बन्धी पूर्वलिङ्ग (निमित्त लक्षण)का बारेमा हाम्रा ऋषिमुनिहरूले प्रशस्तै चिन्तन अवश्य गरेका छन् । तिनलाई आधार मानेर अध्ययन–अनुसन्धान गर्ने हो भने पाश्चात्य मतका आधारमा  अहिलेसम्म पनि गर्न नसकिएको भूकम्प सम्बन्धी भविष्यवाणी पौरस्त्य मान्यताका आधारमा अझै सूक्ष्मरूपमा गर्न सकिन्छ तर त्यसो गर्न निमित्त लक्षणका बारेमा चिन्तन गरेर भविष्यवाणी गर्न सक्ने  विज्ञहरूका लागि राज्यले उचित पूर्वाधार तय गरेर व्यवस्था गरिदिनुपर्छ, सङ्कटका बेलामा आलोचना गरेर मात्र हुँदैन ।
१.२.२. भूकम्पको कारण
भूकम्पका अनगिन्ती कारणहरू र तिनका बारेमा फरक–फरक मतमतान्तरहरू छन् । ती मध्ये केही यस्ता कारणहरू छन् जो पौरस्त्य एवं पाश्चात्य दुवै मान्यतामा मेल खान्छन् । केही प्राचीन मतहरू आधुनिक मान्यताका प्रेरक स्रोतजस्ता लाग्छन् अनि कति पौराणिक मतहरू भने वर्तमानमा मिथकजस्ता पनि लाग्छन् ।
१. पृथ्वीमा गरिने कुनै ठूलो आणविक परीक्षण, विष्फोट आदिबाट भूकम्प हुन्छ भन्ने पाश्चात्य मान्यता देखिन्छ । त्यसो गर्दा पृथ्वीमा धक्का हुन गएर भूकम्प पैदा हुने हो । पूर्वमा यस्तो चिन्तन वसिष्ट प्रभृति महर्षिहरूले पहिल्यै गरिसकेका थिए । आकाशीय वायुको झोक्का परस्परमा ठोकिएर पृथ्वीमा दबाव पर्न जाँदा भूकम्प हुन्छ भने चिन्तन वसिष्ठ प्रभृति महर्षिहरूको देखिन्छ (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक २) ।
२. समुद्रमा रहेका ह्वेल प्रभृति ठूला जलचर प्राणीहरूको विचलनबाट भूकम्प पैदा हुन्छ भन्ने प्रचलित मत पुरानै हो । पूर्वमा यस मतका अनुयायीहरूमा कश्यपाचार्य प्रमुख देखिन्छन् । (बृहत्संहिता,  भूकम्पलक्षणाध्याय, श्लोक १) ।
३. पौरस्त्य मान्यतामा भू–भारका कारण परिश्रान्त दिग्गजहरूको विश्रामावस्थाले भूकम्प हुन्छ । एकथरि आचार्यहरूका मत अनुसार पृथ्वीलाई दिग्गजहरूले धारण गरेका छन् । वर्धमान, सुवृद्ध, अतिवृद्ध र पृथुश्रवा नाम गरेका चार दिग्गजहरूले पृथ्वीलाई धारण गरेका छन् । यी मध्ये वर्धमानलाई पूर्वदिशामा, सुवृद्धलाई दक्षिणदिशामा, अतिवृद्धलाई पश्चिम दिशामा र पृथुश्रवालाई उत्तरदिशामा पृथ्वीको भार वहन गर्नलाई झनेर ब्रह्माजीले सृष्टिको क्रममा आदेश गरी नियुत्त गरेका हुन् । भू–भारबाट आक्रान्त भएर खिन्न भएका ती दिग्गजहरूले कहिलेकहीं लामो श्वास फेर्छन् जसका कारण भूमिमा कम्पन उत्पन्न हुन्छ । यस मतका अनुयायीहरूमा गर्गाचार्य प्रमुख देखिन्छन् (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक १) । यस्तै चार दिशा र चार विदिशा गरी आठैतिर ऐरावत, पुण्डरिक, वामन, कुमुद, अञ्जन, पुष्पदन्त, सार्वभौम र सुप्रतीक गरिएका पृथ्वीलाई धारण गर्ने आठ दिग्गजहरू छन् र अभ्रमु, कपिला, पिङ्गला, अनुपमा, ताम्रकर्णी, शुभ्रदन्ती, अङ्गना र अञ्जनावती गरिएका आठवटी दिग्गजका शक्तिहरू पनि छन् । यिनीहरूले नै पृथ्वीलाई धारण गरेका छन् र यदाकदा यिनमा उत्पन्न हुने विचलनका कारण भूमिमा कम्पन पैदा हुन्छ भन्ने मान्यता छ ।
अर्काथरि आचार्यहरूका मत अनुसार यो पृथ्वी कूर्मपृष्ठमा अवस्थित छ । परिश्रान्त अवस्थामा पृथ्वीलाई धारण गर्ने कूर्मको विचलनले पृथ्वीमा कम्पन पैदा हुन्छ । कुर्मपृष्ठलाई आठदिशा र मध्यभाग गरी नौ खण्डमा विभाजन गरी सम्पूर्ण पृथ्वीलाई नै नौ खण्डमा विभाजन गरिएको छ ।
यस्तै कतिपय आचार्यहरूका मत अनुसार यो पृथ्वी शेष नागको शिरमा अवस्थित छ । परिश्रान्त अवस्थामा पृथ्वीलाई धारण गर्ने शेष नागको विचलनले पृथ्वीमा कम्पन पैदा हुन्छ ।
समग्र पृथ्वीमा कतिवटा प्लेटहरू छन् भन्नेमा आधुनिक भूगर्भविद्हरूमा ऐकमत्य देखिँदैन । प्रतीकात्मक रूपबाट बुझ्ने हो भने आधुनिक मान्यताका सातरआठ संख्याका प्लेटका  आधार यिनै दिग्गज र कूर्मपृष्ठका कुरा  हुन् भन्न सकिन्छ । आधुनिक प्लेटविवर्तनको सिद्धान्त दिग्गज र कूर्मपृष्ठका सिद्धान्तसँग तुलनीय हुन सक्छन् ।
४. कतिपय आचार्यहरूले अदृष्ट शक्तिलाई भूकम्पको कारण मानेका छन् । (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक २) । अदृष्ट भनेको धर्म र अधर्म हो भन्ने विचार आस्तिक विद्वानहरूको देखिन्छ । धर्म र अधर्मका कारण उत्पन्न भूकम्पजन्य फल पनि शुभ र अशुभ हुन्छ । आधुनिकहरू यसलाई स्वीकार गर्दैनन् । तर भूकम्पको रहस्य अझैसम्म पनि यसैको गर्भमा रहेजस्तो लाग्छ ।
५. संस्कृत भाषामा पृथ्वीलाई रत्नगर्भा एवं वसुन्धरा पनि भनिन्छ । पृथ्वीको अन्तर्भाग अमूल्य रत्नहरूले भरिएको हुन्छ । प्रचण्ड ताप र प्रबल चापका कारण ती रत्नहरू तरल अवस्थामा यताउता घुमिरहेको अवस्थामा हुन्छन् । यसलाई म्याग्मा वा लावा भनिन्छ । अत्यधिक ताप र चाप उत्पन्न भएमा यदाकदा विष्फोट भएर म्याग्मा वा लावा ज्वालामुखीका रूपमा बाहिर निस्कन्छ र कालान्तरमा चट्टानका रूपमा जम्छ । ज्वालामुखी विष्फोट हुँदा भूकम्प हुन्छ । यसलाई पूर्व र पश्चिम दुवैतर्फका विद्वानहरूले स्वीकारेका छन् ।  
६. पौराणिक वाङ्मयमा वर्णित कतिपय भू–कम्पसम्बन्धी प्रसङ्गहरूलाई पौरस्त्य ज्योतिर्विद्हरूले पनि ग्रहण गरेको देखिन्छ । पुराणमा बताइएका कतिपय प्रसङ्गहरू प्रतीकात्मक हुने हुँदा तिनलाई कथानक रूपमा यथावत् बुझ्न खोज्दा अलि अविश्वसनीय र अतिरञ्जित जस्तो पनि लाग्न सक्छ ।
भू–कम्पसँग जोडिएको एउटा रोचक प्रसङ्ग छ— जस अनुसार पहिला–पहिला पर्वतहरूका पनि चराका जस्तै पखेंटा थिए । त्यसैले पर्वतहरू पृथ्वीमा उडेर यत्रतत्र बस्ने र उठ्ने गर्दा पृथ्वीले आफ्नो अचला भन्ने नामलाई सार्थक बनाउन सकिनन् । पृथ्वीको नाम अचला पनि हो जसको शाब्दिक अर्थ स्थिर वा चाल नभएको भन्ने हुन्छ । पर्वतहरूका गतिविधिका कारण चलायमान पृथ्वीले देवीको रूप धारण गरी देवसभामा गएर लज्जित हुँदै ब्रह्माजीलाई आफ्नो अस्तित्वरक्षाका लागि याचना गरिन् । पृथ्वीको अवस्था देखेर ब्रह्माजीले पृथ्वीको अस्तित्वरक्षाका लागि पर्वतहरूको पखेंटा काट्न इन्द्रलाई आदेश दिए । इन्द्रले पर्वतको पखेंटा काटे । ब्रह्माजीले पृथ्वीलाई अभयदान दिलाउनाका साथै लोकमा शुभाशुभ फलबारे जानकारी दिनका लागि यदाकदा वायु, अग्नि, इन्द्र र वरुणले दिनराक्रिको त्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भागमा कम्पन गराउने कुरा बताए । त्यसैकारणले अहिले पनि भू–कम्प हुने गर्दछ । यस अनुसार भूकम्पका कारणका रूपमा चार देवताहरू देखापर्छन् । त्यसैले भूकम्पलाई दैवीशक्ति भन्ने गरिएको हो । यस मतका अनुयायीहरूमा पराशर प्रमुख देखिन्छन् (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक ३–७) ।
१.३. पौरस्त्य वाङ्मयमा भूकम्पचर्चा
         पौरस्त्य वाङ्मयको क्षेत्र अति विस्तृत र विशाल छ । संस्कृत भाषामा लेखिएका समग्र सामग्रीहरू यसैभित्र पर्ने हुनाले सिङगो वाङ्मयमा भूकम्पसम्बन्धी चर्चापरिचर्चा कति छ भनेर निर्क्यौल गर्नु दुःसाध्य कुरा हो । तसर्थ संस्कृत वाङ्मयबाट ज्योतिष वाङ्मयलाई छुट्याएर अन्वेषण गर्नु सरल र सहज हुन्छ ।
१.३.१. संस्कृत वाङ्मय र भूकम्प
पौरस्त्य वाङ्मयका वैदिक संहिताहरूदेखि नै भूकम्पसम्बन्धी प्रसङ्ग पाइनुले यसको चर्चा सुरुदेखि नै हुँदै आएको देखिन्छ । । सामवेदको ब्राह्मणग्रन्थको छैटौँ खण्डमा सामान्य भूकम्पको शान्तिविधि र बाह्रौं खण्डमा महाभूकम्पको शान्तिविधिको वर्णन गरिएको छ । वर्तमानमा सर्वसुलभ नभए पनि अथर्ववेदमा भूकम्प र महाभूकम्प आदिको शान्तिविधि उल्लेख गरिएको छ (पोखरेल) । यस्तै मत्स्यपुराण, मयूरचित्रकम्, शान्तिमयूख शान्तिसार लगायतका ग्रन्थहरूमा भूकम्पशान्तिविधिहरू उल्लेख गरिएका छन् । पौराणिक ग्रन्थहरूमा विशेष गरी खराब समयको सङ्केत गर्दा भूकम्प भएको प्रसङ्ग जोडिन आउँछ । निमित्त लक्षणहरू बताउने क्रममा त्यहाँ भूकम्पको चर्चा भएको देखिन्छ । आचार्य वराहमिहिरप्रणीत बृहत्संहिता अन्तर्गत भूकम्पलक्षणाध्यायलाई आधार बनाएर लक्ष्मीपति पाँडेद्वारा लेखिएको  संहिताभाष्य टीकामा नारदसंहिता, विष्णुपुराण, गर्गसंहिता, मत्स्यपुराण, विष्णुधर्मोत्तरपुराण, बृहस्पतिसंहिता, शुक्रसंहिता, योगावली, मयूरचित्रकम्, कश्यपसंहिता, दीपिका, पराशरतन्त्र, पराशरसंहिता, वटकणिका जस्ता ग्रन्थहरूबाट प्रमाणवचनहरू उल्लेख गरिएकाले यी सबै ग्रन्थहरूमा भूकम्पका सम्बन्धमा चर्चा परिचर्चा छन् भन्ने देखिन्छ । तर यी मध्ये केही ग्रन्थहरू सर्वसुलभ छैनन् । महाभारतमा पनि भुकम्पको प्रसङ्ग छ । भीमपराक्रम जस्ता कतिपय काव्य–नाटकहरूमा पनि भूकम्पसम्बन्धी प्रसङ्गहरू आएका छन् भन्ने कुरा उनको टीकाग्रन्थबाट थाहा हुन्छ ।
१.३.२. ज्योतिष वाङ्मय र भूकम्प
भू–कम्पको विषयमा प्राच्य ज्योतिषका संहिताग्रन्थहरूमा ऋषिमुनिहरूका अनेकौं मतमतान्तरहरूलाई समेटेर भू–कम्पको परिभाषा, कारण, प्रकार, प्रकृति, शक्ति, शुभाशुभ फल र फलपाककाल (भू–कम्प भएको समयबाट शुभाशुभ फल प्राप्ति हुने समयावधि)का बारेमा विस्तृत अध्ययन–अनुसन्धान गरिएको देखिन्छ । भूकम्पको समयलाई नक्षत्र र बेलाका आधारमा विभाजन गरेर हेर्ने गरिन्छ । सात–सात नक्षत्रहरूको एक मण्डल मानी अश्विनी आदि गरिएका अठ्ठाइस नक्षत्रहरूलाई (अभिजित समेत गरी) चार मण्डलमा विभाजन गरिएको छ ।
१.३.२.१.  वायव्य मण्डल
अश्विनी, मृगशिरा, पुनर्वसु, उत्तराफाल्गुनी, हस्त, चित्रा र स्वाती यी सात नक्षत्रहरू वायव्य मण्डलमा पर्दछन् । यी नक्षत्रहरूमा भूमि कम्प भएमा त्यसलाई  वायवीय कम्प भनिन्छ र यस्तो भू–कम्प आउनुभन्दा सात दिन अघिदेखि आकाश धुमिल हुन्छ, दसै दिशामा मलिनता देखिन्छ । हावा बढी चल्नाले रुखहरू भाँचिने, सूर्यको बिम्बमा मलिनता देखिने जस्ता लक्षणहरू देखिन्छन् भने भू–कम्पपछि उत्तम प्रजातिका धानहरू, जल, जङ्गलका जडीबुटीहरूको क्षय हुन्छ । जनतामा श्वास–प्रश्वास, पागलपन(मनोरोग), ज्वरो जस्ता रोगहरू वृद्धि हुन्छन् । व्यापारी वर्ग पीडित हुन्छन् । यस्तै मोडलिङ् पेशामा लागेकाहरू, शस्त्रजीवी , चिकित्सक, नारी, कवि, लेखक, गायकवर्ग पनि पीडित हुन्छन् । वायव्य कम्प दिनको पूर्वार्धमा हुन्छ । (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक ८–११) ।
१.३.२.२.  आग्नेय मण्डल
भरणी, कृत्तिका, तिष्य, मघा, पूर्वाफाल्गुनी, विशाखा र पूर्वाभाद्रपदा यी सात नक्षत्रहरू आग्नेय मण्डलमा पर्दछन् । यी नक्षत्रहरूमा भूमि कम्प भएमा आग्नेय कम्प भनिन्छ र यसमा सात दिन अघिदेखि उल्कापात, दिग्दाह जस्ता लक्षणहरू देखिन्छन् र भूकम्पपछि जल, र जलाशयको नाश, राष्ट्रप्रमुखहरूमा विद्वेष, मानिसहरूमा दादरोग, गोडा फुट्ने रोग, दुवीरोग जस्ता रोगहरूको वृद्धि हुन्छ । आग्नेय कम्प दिनको उत्तरार्धमा हुन्छ । (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक १२–१५) ।
१.३.२.३. ऐन्द्र मण्डल
रोहिणी, अनुराधा, ज्येष्ठा, उत्तराषाढा, अभिजित, श्रवण र धनिष्ठा यी सात नक्षत्रहरू इन्द्रका मण्डलमा पदर्दछन् र यिनमा भएको कम्पलाई ऐन्द्र कम्प भनिन्छ । ऐन्द्र कम्पको सात दिन अघिदेखि आकाशमा भयङ्कर मेघ गर्जना भई भीषण वर्षा हुने, चट्याङ पर्ने हुन्छ । भू–कम्पपछि विशेष गरी कुलीनवर्ग, राजा वा राष्ट्रप्रमुख, नेता आदिलाई अशुभ फल हुन्छ भने लोकमा हैजा, झाडापखाला, कण्ठरोग, मुखरोगको वृद्धि हुन्छ । ऐन्द्र कम्प रातको पहिलो भागमा हुन्छ । (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक १६–१९) ।
१.३.२.४. वारुण मण्डल
यस्तै आर्द्रा, अश्लेषा, मूल, पूर्वाषाढा, शतभिषा, उत्तराभाद्रपदा र रेवती वरुण मण्डलमा पर्दछन् र  यी नक्षत्रहरूमा भूमिकम्प भएमा वारुण कम्प भनिन्छ । यस्तो कम्प हुनुपूर्व सात दिन अघिदेखि निरन्तर रूपमा भयङ्कर वृष्टि हुन्छ । मन्द–मन्द मेघ गर्जन हुन्छ । बिजुली चम्कने, आकाश नीलो–कालो हुने हुन्छ । यस्तो भू–कम्पपछि जलचर प्राणी र समुद्र एवं नदी किनारमा बस्ने मानिसहरूलाई अशुभ हुन्छ । वर्षा ज्यादा हुन्छ । परस्परमा भएको विद्वेष हट्छ । वारुण कम्प रातिको उत्तरार्धमा हुन्छ । (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक २०–२२) ।
नक्षत्र र वेला एउटै मण्डलमा परेमा तज्जन्य फल पूर्ण रूपमा प्राप्त हुन्छ ।
१.४. भूकम्पको फलपाककाल र प्रभावक्षेत्र
भू–कम्पको शुभाशुभ फल छ महिनाभित्र समाप्त भइसक्छ । वायव्य मण्डलमा भएको भू–कम्पजन्य दुष्फल ऐन्द्रमण्डलमा उत्पन्न भएको भूकम्पले नष्ट गर्छ । ऐन्द्र मण्डलमा भएको भू–कम्पजन्य दुष्फल वायव्यकम्पले नष्ट गर्छ । यस्तै वारुणकम्पले आग्नेयकम्पजन्य दुष्फल र वारुणकम्पजन्य दुष्फल आग्नेय कम्पले नष्ट गर्छ । (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक २४) । यी चारमध्ये वारुण कम्प र ऐन्द्रकम्पमा अशुभफल कम हुन्छ भने वायवीय कम्प र आग्नेय कम्पमा अशुभ फल बढी हुन्छ ।
वायवीय भूकम्पमा २०० योजन, आग्नेय कम्पमा ११० योजन, वारुणीकम्पमा १८० योजन र ऐन्द्रकम्पमा १६० योजनसम्म कम्पन हुन्छ । (बृहत्संहिता, भूकम्पलक्षणाध्याय, श्लोक २८) ।
१.५. भूकम्पको प्रकृति र सम्भाव्य योग
         मीन, कर्कट, र मकर लग्नमा कूर्मको चालका कारण, सिंह, तुला र मिथुनमा शेष नागको चालका कारण, कुम्भ, धनु र कन्या लग्नमा स्वयं भूमिका कारण र वृष, वृश्चिक र मेष लग्नमा दिग्गजको चालका कारण भूकम्प हुन्छ भन्ने कुरा बताइएको छ । कुर्मजन्य एवं नागजन्य भूकम्पको दुष्फल र पृथ्वीजन्य एवं दिग्गजजन्य भूकम्पको शुभफल बताइएको  छ । कुर्मजन्य भूकम्पमा मृत्यु र  नागजन्य भूकम्पमा दुर्भिक्ष तर पृथ्वीका कारण हुने र दिग्गजका कारण हुने भूकम्पमा सुभिक्ष जस्ता शुभ फल हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । कुनै बेला धेरै कम्पन हुँदा पनि नकारात्मक प्रभाव कम हुनु र कुनै बेला थोरै कम्पन हुँदा पनि नकारात्मक फल धेरै देखिनुले यसको पुष्टि हुन्छ ।
         यसै गरी ज्योतिषशास्त्रमा ग्रहस्थितिका आधारमा पनि सम्भाव्य भूकम्प योगहरू बताइएका पाइन्छन् । त्यस्ता केही योगहरू यहाँ प्रस्तुत गरिएका छन् ।
१) राहुदेखि सप्तमस्थानमा मङ्गल, मङ्गलदेखि पञ्चमस्थानमा बुध र बुधदेखि चतुर्थस्थानमा चन्द्रमा भएमा भूकम्प योग हुन्छ ।
२) सूर्यदेखि क्रिकोणस्थानमा राहु, चतुर्थस्थानमा शुत्र र अरु ग्रहहरू सप्तमस्थानमा भएमा भूकम्पयोग हुन्छ ।
३) सूर्यदेखि त्रिकोणस्थानमा मङ्गल र सप्तमस्थानमा राहु एवं बाँकी ग्रहहरू अस्त भएमा भूकम्प योग हुन्छ ।
४) सूर्यदेखि अष्टमस्थानमा शनि र द्वितीयस्थानमा शुभग्रह भई तारा ग्रहहरू बक्री भएमा भूकम्प योग बन्छ ।
१.६. भूकम्प ज्योतिषीय विषय हो
         भूकम्पको बारेमा भूगर्भविद्हरूले भनेजस्तो केवल पृथ्वीको बारेमा मात्र अध्ययन गरेर पुग्दैन । त्यसैले भूकम्प भूगर्भविद्को मात्र विषयक्षेत्र होइन । भूकम्पलाई भूगर्भशास्त्रको परिधिमा मात्र राखेर हेर्न खोजियो भने त हाम्रो शास्त्रको मर्मविपरीत मात्र नभएर विज्ञानकै चालसम्बन्धी जडत्वको सिद्धान्तविपरीत पनि हुनजान्छ । विज्ञानको चालसम्बन्धी नियम अनुसार बाहिरी बलको प्रयोग नगर्दासम्म कुनै पनि वस्तु चाल अवस्थामा छ भने चाल अवस्थामै र स्थिर अवस्थामा छ भने स्थिर अवस्थामै रहिरहन्छ । वस्तुको यथास्थितिमा रहने गुणलाई जडत्व (क्ष्लभचअष्ब) भनिन्छ । यसरी भूकम्पमा बाहिरी बलको प्रभाव हुन्छ भन्ने कुरा स्वतः सिद्ध हुन्छ । त्यस्तो बाहिरी बल ब्रह्माण्डका अरु पिण्डका कारण उत्पन्न हुन्छ । पृथ्वीका साथै ती पिण्डहरूको अध्ययन ज्योतिषशास्त्रमा हुन्छ । भूगर्भशास्त्र व्यष्टि हो भने ज्योतिषशास्त्र समष्टि हो । तसर्थ भूकम्प ज्योतिषीय विषय हो ।
१.७. भूकम्फ दैवीघटना हो
देवत्व र दैवी शक्ति स्वीकार नगर्ने व्यत्तिहरूको बाहुल्य भएको वर्तमान समयमा यसो भन्दा  धेरैलाई असान्दर्भिक लाग्ला । तर भूकम्प दैवी घटना हो भन्ने कुरा सर्वसिद्ध बनेको छ । वि.सं. २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पलाई मात्र हेर्दा पनि यो  तथ्य सिद्ध हुन्छ । गणितीय रूपमा गोरखा भूकम्पको कम्पन जति हुनुपर्ने हो त्यो भन्दा सत्तरी (७०)गुणा कम भयो भन्ने वैज्ञानिकहरूको भनाइले नै यो कुरा सिद्ध गरेको बुझिन्छ । यस्तै यहाँको भूबनोट, मानववस्ती, भौतिक संरचना लगायतका तथ्यहरूलाई आधार मानेर भूगर्भविद् र भूकम्पविद्ले गरेका विश्लेषण सबै गलत सावित भए । अन्यत्र पनि यस्तै भएका धेरै उदाहरणहरू पाइन्छन् । भौतिक तथ्य र गणितीय आधारमा गरिएका विश्लेषण गलत साबित हुनु नै भूकम्प दैवीघटना हो भन्ने प्रमाण हो । दैवीघटनामा भौतिक तथ्यका आधारमा गरिएको विश्लेषण मिल्दैन ।
१.८. भूकम्पको फल शुभ र अशुभ दुवै हुन्छ
पौरस्त्य ज्योतिषमा भूकम्पलाई उत्पातका रूपमा लिइएको छ । पौराणिक वाङ्मयमा पनि भूकम्पलाई युग परिवर्तनको सूचकका रूपमा व्याख्या गरिएको छ । त्यसैले प्रलय हुने कुरासँग भूकम्पलाई पनि जोडिन्छ । अर्थात् युगपरिवर्तनका समयमा अत्यधिक वृष्टि भई पृथ्वी जलमग्न हुन्छ, भूकम्प हुन्छ भन्नेजस्ता कुराहरूको वर्णन पौराणिक ग्रन्थहरूमा पाइन्छ । पौराणिक कथा अनुसार पर्वतहरूको स्वच्छन्द विचरणबाट हुने कम्पनबाट मुक्त भएर पनि पृथ्वीवासीमा शुभ वा अशुभ फलको सङ्केतका लागि रात वा दिनका प्रहरहरूमा यदाकदा पृथ्वीमा दैवीकम्प हुन्छ ।
भूकम्प आफैँमा विनाशकारी घटना नभएर मानवनिर्मित भौतिक संरचनाका कारण विनाशको हेतु बन्न पुग्छ । शास्त्रीय रूपमा भन्दा भूकम्पको  कारणहरूमध्ये धर्मको सङ्केतस्वरूप हुने भूकम्पको शुभ फल हुन्छ । माथि बताइए अनुसारका नक्षत्र एवं समयका आधारमा वारुणमण्डल तथा ऐन्द्रवेला एवं ऐन्द्रमण्डल तथा वारुणवेलाको भूकम्प शुभफलदायक हुन्छ । यस्तो भूकम्पपछि लोकमा सुभिक्ष,  खुशीयाली, उचित वर्षा, गोदुग्धको वृद्धि, राजा एवं राज्यका बीच शान्तिजस्ता शुभ फलहरू हुन्छन् (बृहत्संहिता, भूकम्पलक्ष्यणध्याय श्लोक २६) । वायव्य र आग्नेय मण्डल एवं वेलाको परस्पर संयोगमा भूकम्प अशुभफलदायक हुन्छ । भूकम्पपछि शुभ र अशुभ दुवै फल हुन्छन् भन्ने कुरा नेपालको इतिहासबाट पनि थाहा हुन्छ । वि.सं. १८६० को भूकम्पपछि नेपालीहरूले गढवालमा विजय प्राप्त गरेका थिए तर लगत्तै वि.सं. १८६५ मा भूकम्प भएपछि त्यहाँबाट नेपालीहरू पराजित हुनु परेको थियो (पन्त, २०६५ ः ५ र १८) । यस्तै वि.सं. १८९० को भूकम्पपछि लगत्तै भीमसेन थापाको अधिकार खोसिएको थियो । यी घटनाहरूबाट पनि यो कुराको पुष्टि हुन्छ ।
१.९. भूकम्पको भविष्यवाणी र बचावट पक्ष अथवा शान्तिविधि
         पाश्चात्य चिन्तनका आधारमा संसारमा आजसम्म निश्चित भविष्यवाणी गर्न नसकिएको विषय भूकम्प हो र निमित्त लक्षणका बारेमा हाम्रा ऋषिमुनिहरूले गरेका चिन्तनलाई आधार मानेर व्यवस्थित रूपमा अध्ययन–अनुसन्धान गर्ने हो भने पौरस्त्य मान्यताका आधारमा अझै सूक्ष्मरूपमा भविष्यवाणी गर्न सकिन्छ तर त्यसको लागि आवश्यक प्रबन्ध राज्यले मिलाइदिनुपर्छ भन्ने कुरा माथि नै लेखियो । भूगर्भमा उत्पन्न ऊर्जा र सञ्चित शक्तिको अध्ययन–अनुसन्धानबाट मात्र त्यस्तो भविष्यवाणी सम्भव छैन । भूगर्भमा अन्तरनिहित शक्तिको परिचालनमा बाह्य पिण्डजन्य शक्तिको प्रभाव कस्तो रहन्छ भन्नेमा त्यो कुरा निर्भर रहन्छ । जस्तो ग्याँसले भरिएको प्रेसरकुकर पड्कनको लागि बाहिरी ताप कारण बन्छ ।
१.१०. प्राचीन समयमा राज्यमा ज्योतिषीको स्थान र भूमिका
         प्राचीनकालमा राज्यमा हुनसक्ने प्राकृतिक एवं दैवी दुर्घटनाबाट बँच्न र बँचाउनको लागि पूर्व सूचना प्राप्त गर्ने उद्देश्यले राजाहरूले ज्योतिषीहरूलाई भरणपोषण गरेर राख्ने गर्दथे । राज्यसभामा पण्डित, पुरोहित एवं ज्योतिषीहरूको उपस्थितिलाई अनिवार्य र गौरवपूर्ण पनि मानिन्थ्यो । यो कुराको ज्ञान प्राचीन इतिहास एवं कलासाहित्यको अध्ययनबाट हुन्छ । विद्या र विज्ञको संरक्षणका साथै जीविकाको निश्चितता, आश्रितको भरणपोषण एवं प्रोत्साहनको माध्यमबाट विज्ञहरूलाई अनुसन्धानमा लाग्न प्रेरित गरिन्थ्यो । यस्तो महान् कार्य राज्यका तर्फबाट गरेकाले नै पौरस्त्य वाङ्मयको पूर्ण विकास सम्भव भएको थियो ।
प्राचीन कालमा राज्यमा देखिने शुभ एवं अशुभ शकुन, निमित्त लक्षण आदिको अध्ययन गरी सम्भावित उत्पातजन्य दुष्टफल शमन गर्नका लागि गर्नुपर्ने शान्तिकर्मका लागि सुझाव पेश गर्न राजज्योतिषी नियुक्त गरिन्थ्यो । आचार्य वराहमिहिरले पनि संहिताशास्त्रमा पारङ्गत ज्योतिषीलाई अरु चारजना त्यस्तै योग्य सहयोगी दिएर राख्नुपर्ने कुरा सांवत्ससूत्राध्यायमा योग्यतम ज्योतिषीको बाह्य एवं आन्तरिक गुणहरू बताएपछि संहिताशास्त्रको विषयहरू वर्णन गर्ने सन्दर्भमा यसरी बताएका छन्—
शुभाऽशुभानि निमित्तानि सामान्यानि च जगतः प्रतिपुरुषं पार्थिवे च प्रतिक्षणमनन्यकर्माभियुक्तेन दैवज्ञेन चिन्तयितव्यानि । न चैकाकिना शक्यन्तेऽहर्निशमवधारयितुं निमित्तानि । तस्मात् सुभृतेनैव दैवज्ञेनान्येऽपि तद्विदश्चत्वारः कर्तव्याः । तत्रैकेनैन्द्री चाग्नेयी च दिगवलोकयितव्या । याम्या नैर्ऋती चान्येनैवं वारुणी वायव्या चोत्तरा चैशानी चेति । यस्मादुल्कापातादीनि शीघ्रमपगच्छन्तीति । तस्याश्चाकारवर्णस्नेहप्रमाणादिग्रहोर्क्षोपघातादिभिः फलानि भवन्ति ।
(बृहत्संहिता, सांवत्सरसूक्राध्याय, श्लोक २१) ।
अर्थः— सामान्य व्यत्ति वा राजासँग सम्बन्धित अनेक विषयको विचार त्यही कर्ममा नियुक्त भएको ज्योतिषीले गर्नुपर्दछ । यसो गर्न एकजना ज्याोतिषीले मात्र सम्भव हुँदैन । तसर्थ राज्यपक्षबाट जीविकाका लागि राम्रोसँग भरणपोषण गरिएको दैवज्ञले अरु योग्य चारजना सहयोगीहरू राख्नुपर्दछ । एक जनाले पूर्व र आग्नेय दिशा, अर्को जनाले दक्षिण र नैऋत्य दिशा, तेस्रो जनाले पश्चिम र वायव्य दिशा अनि चौथो जनाले उत्तर र ईशान दिशाको अवलोकन गर्नुपर्दछ । किनकि उल्कापातहरू छिट्टै विलीन हुन्छन् । तिनको आकार, वर्ण, स्निग्धता, परिणाम आदिका आधारमा र ग्रहन
क्षत्रमा ठोकिँदा र पातस्थान आदिका आधारमा शुभाशुभ फलहरू विचारणीय हुन्छन् ।
१.११. नेपालमा ज्योतिषीको स्थान र भूमिका
नेपालमा पनि राजज्योतिषी नियुक्त गर्ने परम्परा विद्यमान छ । आधुनिक नेपालको एकीकरणको सन्दर्भमा ज्योतिषीहरूको ठूलो योगदान रहेको कुरा इतिहासको अध्ययनबाट थाहा हुन्छ । यतिसम्म कि युद्धमैदानमै गएर ज्योतिषीहरूले विभिन्न रूपमा सहयोग गर्थे । बहादुर शाह र राजेन्द्रलक्ष्मीको नायबीकालमा आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहद्वारा  सङ्कल्प गरिएको एकीकरणको अभियानले तीव्रता पाएको थियो । भीमसेन थापाको मुख्तियारीमा पनि नेपाल राज्यको भूभाग कहिले विस्तारित र कहिले सङ्कुचित हुन पुगेको देखिन्छ ।
त्यस समयका नेपालका ज्योतिषीहरूमा लक्ष्मीपति पाँडे (वि.सं. १८१५–१८८८) र भगीरथ जैसी (वि.सं. १८०१–१८८४) को नाम उल्लेखनीय छ । यी दुवै समकालीन नै हुन् । बहादुर शाहको नायबीकालमा लक्ष्मीपति पाँडेको ठूलो प्रभाव थियो । त्यो समयमा यिनी वर्तमान समयको परराष्ट्रमन्त्री सरहका थिए । यिनले जीवनको अन्तिम समयमा भूकम्पका सम्बन्धमा ज्योतिषशास्त्रीय ग्रन्थहरूको अध्ययन एवं अनुसन्धान गरेका थिए । यसैको फलस्वरूप यिनले वराहमिहिरले रचना गरेका बृहत्संहिताको भूकम्पलक्षणाध्यायमा संहिताभाष्य नाम गरेको टीका लेखेका थिए । त्यो टीका लेखेर उनले पटक–पटक त्यसमा प्राप्त प्रमाणहरू थप्दै गरेका कुरा उनको पाण्डुलिपीबाट थाहा हुन्छ । वि. सं. १८८८ मा उनको देहान्त भयो ।  वि.सं. १८९० मा नेपालमा ठूलो भूकम्प गयो । त्यसैले उनले भूकम्पको सम्भावना देखेर नै यसरी अनुसन्धान गर्दै गरेका हुन् भन्न सकिन्छ ।
नेपालको एकीकरणको सन्दर्भमा ज्योतिषीका रूपमा गोर्खाका प्रसिद्ध ज्योतिषी भगीरथ जैसीको महत्त्वपूर्ण योगदान रहेको छ । यिनको ज्योतिषज्ञानबाट प्रभावित भई कास्कीका राजाले आफ्ना राजज्योतिषीकी छोरी मागेर कन्यादान दिई ज्वार्इंका रूपमा सम्मानपूर्वक राखेका थिए तर पछि यिनी गोर्खा बोलाइए (पन्त ः२०७२, ५) । युद्धविजयमा मुहूर्तको महत्त्वपूर्ण भूमिका हुन्छ । मुहूर्तशास्त्रमा भगीरथ जैसीको राम्रो ज्ञान हुनाका साथै ज्योतिषविद्यामा ख्याति समेत कमाइसकेकाले वि.सं. १८४० पछि तत्कालीन सरकारले विशेष गरी युद्धमा विजय प्राप्त गर्नको लागि उनलाई उपयोग गरेको देखिन्छ (पन्त, २०७२ ः४) । बहादुर शाहको नायबीपछि जब रणबहादुर शाहले शासनभार आफ्नो जिम्मामा लिए तब देशको स्थिति क्रमशः बिग्रँदै गयो । कान्छी रानीका वशमा परेका राजाले लहडमा सन्यास लिए र पछि फेरि शासनसत्तामा आउन खोज्दा स्थिति झन् नराम्रो हुँदै गयो । यसमा भाइ भारदारहरू  पक्षविपक्षमा विभक्त भए । पण्डित पुरोहित र ज्योतिषीहरू समेत विभक्त भए । तर पनि भगीरथ जैसी सदैव संस्थापन पक्षमै रहेका देखिन्छन् (पन्त, २०७२ ः९) । तत्कालीन शासकहरू भगीरथ जैसीसँग निकै प्रसन्न र विश्वस्त पनि थिए । वि.सं. १८६७ मा युद्धमा होमिएका सैनिकहरूलाई यमुना पार तार्ने कि नतार्ने भन्ने विषयको बहसमा भगीरथको निर्णयलाई मानिएकाले पनि यसलाई प्रमाणित गर्छ (पन्तः २०७२ ः १२) ।
भगीरथ जैसी युद्धमैदानमै खटिएका ज्योतिषी हुन् । तत्कालीन समयमा  उनको विद्याले राम्रै प्रभाव पारेको थियो । विशेष गरी किल्लानिर्माण, सैन्यव्यवस्था, युद्धारम्भ समय आदिका क्षेत्रमा उनको ज्योतिष विद्याले राम्रै प्रभाव पारेको थियो भन्ने कुरा तत्कालीन राजज्योतिषी लीलानाथ पाँडेले दिएको मकवानपुर गढीमा निशान प्रवेश गराउने साइतलाई जर्नेल (भीमसेन थापा)लाई नजुरेको भनी निशान प्रवेशमा रोक लगाएको घटनाबाट थाहा हुन्छ (पन्त, २०७२ ः १८) । पदीय रूपमा तत्कालीन समयको निजामतितर्फको उच्च ओहोदा सरहमा राखिएका थिए । यति हुँदाहुँदै पनि यिनी उनी ओझेलमा परेका देखिन्छन् (पन्त, २०७२  ः १६  ) । यस्ता विशिष्ट पात्र इतिहासको गर्तमा किन परे यसको अनुसन्धान हुनु आवश्यक देखिन्छ ।
भगीरथ जैसी ज्योतिषी मात्र नभएर साधक पनि थिए । मन्क्रशत्तिद्वारा उनले सिद्धि प्राप्त गरेका थिए भन्ने कुरा इतिहासको अध्ययनबाट ज्ञान हुन्छ (देवकोटा, २०७२ ः१२) । आफू विद्वान् हुनाका साथै उनका छोराहरू पनि विद्वान्का रूपमा प्रसिद्ध थिए । यस्तो भए पनि हालसम्म उनको प्रसिद्धि र विद्याको प्रभाव बाहेक कुनै ग्रन्थरचना केही भेटिएको छैन । यत्रा विद्वान्को केही न केही ग्रन्थ वा सङ्ग्रह अवश्य हुनुपर्थ्यो भन्ने अनुमान गर्न सकिन्छ । यसबाट पछिल्लो समयमा उनको विद्या र ग्रन्थसङ्ग्रहको रक्षा राम्ररी भएको देखिँदैन ।
वर्तमान समयमा पनि आवश्यक सूचना र भावी शुभाशुभत्वको सामान्य सङ्केत ज्योतिषीहरूले गर्ने गरेकै छन् तर राज्यले पनि आवश्यक पर्दा मात्र उपयोग गर्ने अनि ज्योतिषीहरू पनि अवसरको उपयोग मात्र गर्ने तर विद्याको लागि स्वार्थभन्दा माथि उठ्न नसकेकाले महत्त्वहीन जस्तै बन्न पुगेका देखिन्छन् । आधारभूत आवश्यकताका लागि नै कठीन श्रम गर्नुपर्ने देशमा विज्ञहरूद्वारा आफैं अनुसन्धानको कार्य गर्नु असम्भव प्रायः हुन्छ ।
१.१२. नेपालमा भूकम्पसम्बन्धी शास्त्रीय खोज–अनुसन्धान
         भूकम्पका बारेमा पाश्चात्य जगतमा गरिएको भन्दा पूर्वका विद्वानहरूले गरेका चिन्तन सूक्ष्म देखिन्छन् ।  नेपालमा आजभन्दा करिब दुई सय (२००) वर्षअघि लक्ष्मीपति पाँडेले आफ्नो जीवनको अन्तिम समयमा भूकम्पका सम्बन्धमा ज्योतिषशास्त्रीय ग्रन्थहरूको अध्ययन एवं अनुसन्धान गरेर वराहमिहिरले रचना गरेका बृहत्संहिताको भूकम्पलक्षणाध्यायमा संहिताभाष्य नाम गरेको टीका लेखे बाहेक पछिल्लो समयमा कुनै पनि व्यक्तिबाट भूकम्पसम्बन्धी शास्त्रीय सिद्धान्तमा आधारित भएर अनुसन्धानात्मक ग्रन्थ लेखिएको पाइँदैन । सैद्धान्तिक विश्लेषण गरिएको ग्रन्थ नलेखिए पनि भूकम्पको इतिहासपरक पुस्तक र लेखहरू भने लेखिएका छन् । यस क्रममा ब्रह्मशमशेर जबराको नेपालको महाभूकम्प १९९० साल भन्ने पुस्तक पहिलो हो । विवरणप्रधान यस ग्रन्थमा भएका तथ्यगत त्रुटिहरूलाई समेत केलाएर समीक्षा गरी लेखिएको महेशराज पन्तको æA step towards a Historical seismicity of  NepalÆ, “वि.सं. १८६५ मा गएको भैंचालोको विषयमा” तथा “नेपालमा कहिले कहिले भैंचालो गयो भन्ने विषयमा पत्रपत्रिकाले गरेका अशुद्धि देख्दा” जस्ता लेखहरू पठनीय छन् । विगत  सत्र (१७) वर्ष अघिबाट वि. सं. १९९० सालको विनाशकारी भूकम्पको दिन अर्थात माघ २ गतेको सन्दर्भ पारेर मनाउन थालिएको भूकम्प सुरक्षादिवसको सन्दर्भमा पत्रपत्रिकाहरूमा केही लेखहरू लेखिएका देखिन्छन् । गतवर्ष अर्थात् वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले ठूलो विनाश गरेपछि भूकम्पको विषयमा केही नयाँ चर्चापरिचर्चा सुरु भएको छ । यस बीचमा सञ्चारमाध्यमले पनि यो विषयलाई प्राथमिकतामा राखेको देखिन्छ । सामाजिक सञ्जालमा पनि यसले व्यापक प्रवेश पाएको छ । भूगर्भशास्त्री र ज्योतिषीका बीच भूकम्पका विषयमा नयाँ बहस सुरु भएको छ ।
१.१३. उपसंहार
मूलतः प्राचीन भारतवर्षीय आर्षसभ्यताको प्रभाव क्षेत्र नै पौरस्त्य संसार हो । वैदिक संहितादेखि वर्तमान समयसम्ममा संस्कृत भाषामा लेखिएका यावत् सामग्रीहरूद्वारा पौरस्त्य वाङ्मय भरिपूर्ण अनि परिपूर्ण पनि छ । ब्रह्मादि मुनिदेखि वर्तमानसम्मका आचार्यहरूद्वारा पौरस्त्य ज्योतिषवाङ्मय परिपूर्ण बनेको छ । ज्योतिषका संहिता ग्रन्थहरूमा भूकम्पसम्बन्धी चर्चा–परिचर्चा भएका छन् । निमित्त लक्षणहरूका आधारमा भूकम्पसम्बन्धी भविष्यवाणी गर्न  सम्भव छ । त्यस्ता लक्षणहरू पूर्वसङ्केतका रूपमा संहिताग्रन्थहरूमा बताइएका छन् ।
ज्योतिषशास्त्रमा नक्षत्रमण्डल र दिनरात्रिको समय विभागद्वारा भूकम्पको प्रकृति पृथक् पृथक् देखाइएको छ । त्यस अनुसारका भूकम्पको फल एवं प्रभावक्षेत्र पनि फरक–फरक हुन्छन् । भूकम्पको फल अशुभ मात्र हुन्छ भन्ने होइन । यो कुरा नेपाली इतिहासको अध्ययनबाट पनि थाहा हुन्छ ।
भूकम्प दैवी घटना हो । ज्योतिषशास्त्रमा अन्य ग्रहका स्थिति अनुसार पनि भूकम्पको सम्भावना देखाइएकाले भूकम्प भूगर्भशास्त्रसँग मात्र सम्बद्ध विषय होइन । पौरस्त्य ज्योतिषको सम्यग् अध्ययन, अनुशीलन र अनुसन्धानबाट मात्र भूकम्पको विषयमा सूक्ष्मरूपमा भविष्यवाणी गर्न सकिन्छ ।
Email :  pbhattarai35@yahoo.com
सन्दर्भग्रन्थः
—(सं.) देवकोटा, चैतन्यराज (वि. सं. २०७२), बुबा !, गोर्खा ः सुब्बिनी भद्रकालीकुमारी देवी देवकोटा ।
—पन्त, दिनेशराज (वि.सं. २०६५), विद्वच्छिरोमणि हेमराजको गोरखासम्बन्धी अनुसन्धान, काठमाण्डौं ः डा. ठाकुरनाथ पन्तस्मृति गुठी  ।
—पन्त, दिनेशराज (वि.सं. २०७२), प्रसिद्ध ज्योतिषी भगीरथ जैसी, काठमाण्डौं ः खिलशर्मराजीवलोचनजोशीस्मारक प्रतिष्ठान ।
—वराहमिहिर(इ.सं. १९९७), बृहत्संहिता (व्या., डा. सुरेशचन्द्र मिश्र), नयाँ दिल्ली ः रञ्जन पब्लिकेशन ।
—दिनकरभट्टः (वि.सं.१९६७ ), शान्तिसारः, मुम्बई ः क्षेमराजश्रीकृष्णदास ।
पत्रिका
–पन्त, महेशराज, æA step towards a Historical seismicity of  NepalÆ, ADARSHA,
NO. 2, (2002 AD.), पृष्ठसङ्ख्या २९–६० ।
—पन्त, महेशराज, “वि.सं. १८६५ मा गएको भैंचालोको विषयमा” पूर्णिमा पूर्णाङ्क ९५(वर्ष , अङ्क ,
वि.सं.२०५५     ), पृष्ठसङ्ख्या – ।
—पन्त, महेशराज, “नेपालमा कहिले कहिले भैंचालो गयो भन्ने विषयमा पत्रपत्रिकाले गरेका अशुद्धि
देख्दा” पूर्णिमा (वर्ष २८, अङ्क ३, वि.सं.२०६० फाल्गुन), पृष्ठसङ्ख्या १–७ ।
—पोखरेल, ऋषिराम, “महाभूकम्पः तस्य शान्तिश्च”  गोरखापत्र (संस्कृतभाषा पृष्ठ, २०७२ श्रावण १५
गते शुक्रवार ) ।
अप्रकाशित पाण्डुलिपि
—वराहमिहिरको भूकम्पलक्षणाध्यायमा लक्ष्मीपति पाँडेको संहिताभाष्यटीका, संशोधनमण्डल ः काठमाण्डौं ।