घटस्थापना र चित्रा, वैधृति योग शान्ति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

आधिकारिक


      दशैं अर्थात् शारदीय नवरात्रको पहिलो दिन दुर्गा पूजा गर्ने कार्यलाई घटस्थापना भनिन्छ । यो घटस्थापना आश्विन शुक्ल प्रतिपदाको दिन गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन यदा कदा चित्रा नक्षत्र र वैधृति योग पनि पर्न सक्तछ । यसरी घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृतियोग पर्‍यो र यसमा घटस्थापना गरियो भने ठूलो अनिष्ट हुन्छ  भनी शास्त्रमा बताइएको छ । जस्तैः –

वैधृतौ पुत्रनाशःस्याच्चित्रायां धननाशनम् ।
तस्मान्न स्थापयेत् कुम्भं चित्रायां वैधृतौ तदा ।।

अर्थात् वैधृति योगमा घटस्थापना गरे पुत्रनाश हुन्छ र चित्रा नक्षत्रमा घटस्थापना गरे धननाश हुन्छ ।
घटस्थापनाको दिन पूरा पूर चित्रा नक्षत्र र वैधृति योग परेमा के गर्ने त ? भन्दा शास्त्रमा लेखिएको छ ।

त्वाष्ट्र वैधृतियुत्ता चेत् प्रतिपच्चण्डिकार्चने ।
तयोरन्ते विधातव्यं कलशारोपणं गुह ।।

                                                          — (देवी पुराणको भार्गवार्चन दीपिका)

प्रतिपद्याश्विने मासे भुवो वैधृतिचित्रयोः।
आद्यपादौ परित्यज्य प्रारभेन्नवरात्रकम् ।।
चित्रावैधृति सम्पूर्णा प्रतिपच्चेद् भवेन्नृप ।
त्याज्या ह्यंशास्त्रयस्त्वाद्यास्तृुरीयाशे तु पूजनम् ।।    

                                                          — (दुगोत्सवमा, कात्यायनको वचन)

      घटस्थापनाको दिन पुरा पुर चित्रा नक्षत्र र वैधृति योग परेमा सकभर यी दुवैको घटी पला  विते पछि घटस्थापना गर्नु पर्छ । यो सम्भव नभएमा चित्रा र वैधृतिको तीन चौथाइ घटी अर्थात् ३/४ घटी कटाई पछिल्लो एक चौथाइ घटी अर्थात् १/४ घटीमा  घटस्थापना गर्नु पर्छ । पूरा दिनभरि र पूरा रातभरि चित्रा र वैधृति योग पर्दा “न रात्रौ स्थापयेत् कुम्भम् न च कुम्भाभिषेचनम्”– मत्स्यपुराणको यो शास्त्रीय वचन अनुसार रातमा घटस्थापना निषेध गरिएकोले समस्या जस्ताको त्यस्तै रहन्छ । यसमा के गर्ने त ? भन्दा यो समस्याको समाधानकालागि शास्त्रले यस्तो निर्देशन गरेको छ ।

सम्पूर्णा प्रतिपद्देव चिक्रा युत्ता यदा भवेत् ।
वैधृत्या वापि युक्ता स्यात् तदा मध्यन्दिने रवौ ।।
अभिजित्तु मुहूर्तं यत्तत्रस्थापनमिष्यते ।

घटस्थापनाको दिनको प्रतिपदा तिथिमा पूरा दिनभरि र रातभरि चित्रा नक्षत्र वा वैधृति योग परेमा मध्यान्ह कालमा अभिजित् मुहूर्त परेको समयमा घटस्थापना गर्नु पर्छ ।

वि.सं २०७८ सालको घटस्थापनाको स्थिति

      वि.सं २०७८ आश्विन २१ गते विहिवार आश्विन शुक्ल प्रतिपदा तिथि परेकोले यो दिन घटस्थापनाको दिन परेको छ । यसमा रातको १२ः१० बजे सम्म चित्रा नक्षत्र र विहान ८ः१५ बजे  उप्रान्त भोलिपल्ट विहान ५ः३४ बजे सम्म वैधृति योग रहेको छ । यसरी करीव करीव पूरै दिन र रात भरी चित्रा नक्षत्र र वैधृति योग देखिएकोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको शुभ साइत निकाल्दा मध्यान्ह काल र अभिजित् मुहूर्तको मध्य पारेर बिहान ११ः४६ बजे घटस्थापना को साइत  निर्धारण गरेको छ । सबै नवरात्रिमा दुर्गा पूजा गर्दा कुन समयमा गर्ने भन्ने विषयमा भने निम्नानुसार शास्त्रीय वचन पाइन्छ ।

प्रातः काललक्षणम्

भास्करोदयमारभ्य यावत्तु दश नाडिका : ।
प्रातःकाल  इति प्रोक्तःस्थापनारोहणादिषु ।।

                                                          — (विष्णुधर्मोत्तरपुराण)

प्रातरावाहयेद् देवीं प्रातरेव प्रवेशयेत् ।
प्रातः प्रातश्च सम्पूज्य प्रातरेव बिसर्जयेत् ।।

                                                          – देवीपुराण

      सूर्योदय भए देखि १० घटी अर्थात् ४ घण्टा सम्म प्रातःकाल हुन्छ । प्रातःकालमा देवीको आवाहन गर्नुपर्छ । प्रातःकालमा नै देवीलाई प्रवेश गराउनु पर्छ र प्रतिदिन  प्रातःकालमा देवीको पूजा गरी प्रातःकालमा नै देवीको विसर्जन गर्नुपर्छ ।

      यो भनाइ अनुसार प्रातःकालमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रको मूल मर्म र चित्रा वा वैधृति योग परेमा मध्यान्ह कालमा घटस्थापना गर्नु पर्छ भन्ने शास्त्रको अर्को भनाइ रहेकोमा “सामान्यशास्त्रतो नूनं विशेषो बलवान भवेत्” अर्थात् सामान्य शास्त्र भन्दा विशेष शास्त्र बलवान् हुने भएकोले चित्रा नक्षत्र र वैधृतियोग परेमा   मध्यान्हकालको अभिजित् मुहूर्तमा घटस्थापना गर्नु नै शास्त्र सम्मत देखिन्छ । यसकारण नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०७८ साल को घटस्थापनाको साइत निकाल्दा अभिजित् मुहूर्त र अन्य ग्रहस्थितिलाई समेत विचारगरी असोज २१ गते विहिवार बिहान ११ः४६ बजे घटस्थापना गर्नू भन्ने गरेको निर्णय पूरा पूर शास्त्र सम्मत देखिन्छ ।

      माथि उल्लेख भएका सवै शास्त्रीय बचनहरूको निष्कर्षलाई विचार गर्दा प्रातःकालमा भगवतीको आवाहन गर्नू भन्ने पहिलो भनाइ, चित्रा नक्षत्र र वैधृति योग परेमा घटस्थापना गर्दा धननाश र पुत्रनाश हुन्छ भन्ने दोश्रो भनाइ,  चित्रा नक्षत्र र वैधृतियोग परेमा मध्यान्ह कालमा अभिजित् मुहूर्त पारेर घटस्थापना गर्नू भन्ने तेश्रो भनाइलाई विश्लेषण र समीक्षा गर्दा मूल नक्षत्र र अश्लेषा नक्षत्रमा वालक जन्मेमा मूल नक्षत्र र अश्लेषा नक्षत्रको शान्ति गरे झै चित्रा र वैधृति योगको पनि शान्ति गर्ने परम्परा र शास्त्रज्ञहरूको मतलाई समेत मध्यनजर गरी चित्रानक्षत्र र वैधृतियोगको शान्तिका सम्बन्धमा निम्नानुसारको विधि प्रस्तुत गरिन्छ ।

चित्रा र वैधृति योगको शान्ति गर्नूअघि निम्न कर्म गर्ने

१) सकभर रातो शुद्घ वस्त्र धारण गरी शुद्घ आसनमा बस्ने ।
२) आचमन गर्ने, आसनलाई शोधन गर्ने, प्राणायाम गर्ने, भगवतीलाई जल चढाई नमस्कार गर्ने ।
३) घण्ट, शङ्ख, डमरू बजाएर सेतो सर्‍स्यूँ चन्दन, अक्षता, फूल, जौ,तिल, चारै तिर छर्केर पूजामा विघ्नकारक भूतादिलाई अपसारण गर्ने ।
४) कर्मपात्र निर्माण गर्ने, चित्रा र वैधृतिको शान्ति पूर्वक घटस्थापना गरी देवी पूजा गर्ने अधिकार प्राप्तिकालागि प्रायश्चित्त गोदान गर्ने , प्रतिज्ञा सङ्कल्प गर्ने ।
५) ऋष्यादिन्यास, करन्यास, अङ्गन्यास गरी दुर्गा भगवतीको ध्यान गर्ने । यथाशक्ति भगवतीको मूलमन्त्र जपगर्ने । जल चढाउने । भगवतीलाई नमस्कर गर्ने ।
६) अर्घस्थापना गर्ने र शङ्ख, घण्ट, डमरूको पूजा गर्ने ।
७) दीप, कलश, गणेशको पूजा गर्ने ।

चित्रा नक्षत्रको शान्ति

१) ईशान कलशको बायाँ पट्टि चित्रा नक्षत्रको  पूजाकालागि कलश स्थापनाको विधिले  कलश स्थापना गर्ने । सो कलश माथि तामाको थालीमा श्रीखण्ड चन्दनले अष्ठ दल लेखी सो थाली माथि सुनको प्रतिमालाई आगोमा तताई शुद्घ गरी गङ्गाजलले धोएर चित्रानक्षत्रको स्वामी त्वष्टाको प्रतीकको रूपमा स्थापना गर्ने । प्राण प्रतिष्ठाको विधिले  चित्रा नक्षत्र र त्वष्टाको प्राण प्रतिष्ठा गर्ने ।
२) चित्रा नक्षत्रको दायाँ पट्टि सूर्यलाई “चिन्त्रनदेवानामुदगात्” भन्ने मन्त्रले सूर्यलाई पूजा गर्ने । चित्रा नक्षत्रको बायाँ पट्टि वायुलाई “वायुरनिलममृततमथेदम्” भन्ने मन्त्रले पूजागर्ने । यस पछि चित्रा नक्षत्र र त्वष्टालाई आराध्य देव मानी पञ्चोपचार वा षोडशो पचारले पूजा गर्ने । यस पछि

ॐ  त्वष्ठ तुरीयो अद्भूत इन्द्राग्नी पुष्टिबर्धनम् ।
द्विपदाच्छन्दऽइन्द्रियमुक्षा गोत्रवयोदधः ।।

यो मन्त्रले त्वष्ठाको ध्यान गरी पुष्पाञ्जलि चढाउने र

ॐ अमृतोद् भव धिष्णेश यतस्त्वं शङ्करात्मकः ।
धननाशाच्च मां रक्ष तव वश्यश्च धिष्ण्यपः ।।

यो मन्त्रले चित्रा नक्षत्रको ध्यान गरी पुष्पाञ्जलि चढाउने ।

वैधृतियोगको शान्ति

१) ईशानकलशको दायाँ पट्टि वैधृतियोग र अदितिको पूजाका लागि कलशस्थापनाको विधिले तामाको कलश थापी त्यसमाथि अष्टदल लेखेको तामाको थाली राख्ने । सो थालीमाथि आगोमा तताई गंगाजलले धोएको सुनको प्रतिमा राख्ने । त्यसलाई वैधृतियोग र अदितिको प्रतिमा(मूर्ति) परिकल्पना गर्ने र प्राणप्रतिष्ठा गर्ने ।
२) अष्टदलको वीचमा रुद्रलाई , दायाँ पट्टि सूर्यलाई र उत्तर पट्टि सोमलाई आ–आफ्नु मन्त्रले पूजा गर्ने । वीचमा मृत्युञ्जयलाई पूजा गर्ने । यस पछि अदिति र वैधृति योगलाई पञ्चोपचार वा षोडशोपचारले पूजा गर्ने ।

           ॐ अदितिर्द्यौरदितिः........ यो मन्त्रले अदितिलाई र वैधृति योगलाई ॐ  वैधृतियोगाय नमः भनी प्रणाम गरी पुष्पाञ्जलि चढाउने । यथाशक्ति गायत्री जप र मृत्युञ्चयको जप गर्ने । सकेमा पञ्चवारुणी होमपूर्वक–चित्रा,त्वष्टा अदिति र वैधृति योगलाई १०८ का दरले हवन गर्ने । गायत्री र मृत्युञ्जयलाई पनि १०८ का दरले हवन गर्ने । चित्रा र वैधृतिको शान्तिकालागि १ गोदान गर्ने ।

माथि उल्लेखित विधि गर्न नसकेमा ।

(क) ईशान कलशमा, चित्रा, त्वष्टा वैधृति  अदिति र मृत्युञ्जयको पूजा गर्ने चित्रा र वैधृतिको शान्तिकालागि १ गोदान गर्ने ।

यो पनि गर्न नसकेमा

      ईशान कलशमा चित्रा नक्षत्र, त्वष्टा देवता, वैधृति योग  आदिति(देवमाता)र मृत्युञ्जयको पूजा गर्ने । चित्रा र वैधृति योगको दोष नलागोस् भनी नवदुर्गा भगवतीसँग प्रार्थना गरी नमस्कार गर्ने ।

      चित्रा र वैधृतिको शान्ति पछि मूल वेदीमा विधि पूर्वक घटस्थापना गरी कलसमाथि थालीमा दुर्गायन्त्र अथवा भगवतीको मूर्ति स्थापनागरी पूजा गर्ने र यवारोपण(जमारा राख्ने) गर्ने । प्रतिदिन विहान बेलुका भगवतीको पूजा आरति जप पाठ, ध्यान आदि गर्ने । षष्ठीको दिन वेलको रुखमा नवपत्रिकाको आवाहन गर्ने  सप्तमीको दिन नवपत्रिका (फुलपाती भित्र्याने पूजा गर्ने । भद्रकाली र सरस्वतीको पूजा गर्ने । अष्टमीको दिन विशेषपूजा र कालरात्रि गर्ने । नवमीको दिन खड्गिनीको पूजा गर्ने र कुमारीको पूजा गर्ने । दशमीको दिन जया,विजया,अजिता,अपराजिता को पूजा गर्ने अन्त्यमाः –

      चित्रा नक्षत्र र वैधृतियोगको शान्ति समेतलाई उल्लेख गरी  दुर्गा पूजन निमित्तक गोदान, पूर्णपात्र र दक्षिणा सङ्कल्प गर्ने, अभिषेक लिने, तोरण टीका जमरा जल प्रसाद लगाउने । यो वर्ष देवीसर्जनको साईत विहान ८ः१९ बजे छ र टीकाको साईत विहान १०ः०२ बजे (पूर्व मोहडा गरी) शुभ छ ।

यो लेख तयार पार्दा निम्न ग्रन्थको सहायता लिइएको छ ।

क) धर्म सिन्धु : काशीनाथ उपाध्याय(चौखम्वा संस्कृत सिरीज अफिस वाराणसी १)
ख) निर्णय सिन्धु : कमलाकर भट्ट (खेमराज श्रीकृष्णदास श्रेष्ठी वेङ्गटेश्वर(स्टीम) मुद्रणालय)
ग) शान्तिमयूखः नीलकण्ठ भट्ट, (जगन्नाथ रघुनाथ धारपुरे वी.ए.एल.एल.वी हायरकोट  वकिल,विश्वविद्यालय सदस्य–मुम्वई)
घ) सत्कर्मरत्नावलीः (श्री ५ गीर्वाणयुद्घ वीर विक्रम शाहदेव, श्री ५ को सरकारको छापाखाना)
ङ) मुहूर्तचिन्तामणिः राम, पीयूषधारा टीका
च) कृत्यवाटिकाः पं. खङ्गपाणि अर्जेल (नेपाल राष्ट्रिय अभिलेखालय)
छ) वीर मित्रोदयः महामहोपाध्याय पं.मित्रमिश्र चौखम्वा संस्कृत सिरीज आफिस वाराणसी ।
ज) पुरुषार्थ चिन्तामणिः विष्णुभट्ट आठवले–सम्पूर्णनन्द संस्कृत विश्वविद्यालय
झ) वर्षकृत्यदीपक : महामहोपाध्य पं. नित्यानन्द पन्त पर्वतीय , चौखाम्वा,  संस्कृत संस्थान वाराणसी ।
ञ) नारद संहिता : नारदमाहामुनिप्र्रणीता
             चौखम्वा संस्कृत भवन, वाराणसी–२२१००१ (भारत) ।

 

— प्रा.श्रीकृष्ण अधिकारी (अध्यक्ष)

— ज्यो.पं. सूर्यप्रसाद ढुङ्गेल (कार्यकारी निर्देशक)

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति