वि.सं:
नेपाल संवत: ११४५ कौलाथ्व दशमी - १०
वि.सं २०८३ सालको लागि नेपालभरि लागू हुने पञ्चाङ्ग प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले केतकीय ग्रह गणितबाटै ग्रहको उदय, अस्त, चाड, पर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषयहरू समावेश भएको पञ्चाङ्ग गणना गरी सोको प्रतिलिपि यही २०८२ कार्तिक २० गते भित्र यस समितिको नारायणहिटी दरबार परिसरभित्र रहेको कार्यालयमा बुझाउन समस्त पञ्चाङ्गकारहरूमा अनुरोध गरिन्छ । हाल समितिले पञ्चाङ्गलाई समयसापेक्ष परिमार्जन गर्दै जाने सन्दर्भमा पञ्चाङ्ग निर्माण गर्दा केतकीय ग्रहगणितलाई अवलम्वन गर्ने निर्णय गरिसकेको हुँदा यसका सकारात्मक पक्षलाई मध्यनजर गरी सोहीअनुसार पञ्चाङ्ग तयार गरी तोकिएको मिति भित्र समितिको कार्यालयमा आफ्नो पञ्चाङ्ग पेश गर्न सबैमा सूचित गरिन्छ ।
नयाँ पञ्चाङ्गकारहरूको हकमा समितिले अङ्गीकार गरेको सिद्धान्तबाट आफैले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र वि.सं. २०८३ सालको गणनाको सबै आधार र खेस्रा गणितसमेत पेश गर्नुपर्नेछ । म्याद नाघी पेश भएका वा अङ्ग नपुगेका र समितिले अङ्गीकार नगरेका फरक सिद्धान्तबाट निर्माण भएका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाहरूले पनि यस समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्न पाइने छ अन्यथा स्वीकृतिबिना प्रकाशित पञ्चाङ्ग तथा क्यालेण्डरलाई नियम बमोजिम आवश्यक कारबाही समेत हुनसक्ने व्यहोरा सम्बद्ध सबैलाई जानकारी गराइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
नारायणहिटी दरबार परिसर, काठमाडाैं